हालसम्म बाह्र सुरक्षाकर्मीमा कोरोना

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वय गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन्।

सङ्क्रमको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छ।

प्राप्त विवरणअनुसार मुलुकमा ४५३ जनामा कोभिड–१९ सङ्क्रमण देखिदा त्यसबाट १२ जना सुरक्षाकर्मी समेत प्रभावित हुन पुगेका छन्। उनीहरुको आइसोलेशनमा राखेर उपचार जारी छ। नेपाल प्रहरीका छ, सशस्त्र प्रहरीका चार र नेपाली सेनाका दुई जनामा कोरोना भाइरस देखिएको हो। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

आम सुमदायसँग नियमित रुपमा जोडिन पुग्ने सुरक्षाकर्मीमा रोग देखियो भने नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ। त्यसतर्फ सचेत हुनुपर्ने आवश्कता सम्बद्ध सुरक्षा अधिकारीहरुले औँल्याएका छन्। स्वास्थ्य परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जत्तिकै जोखिम सुरक्षाकर्मीलाई पनि छ । तर स्वास्थ्यकर्मीले झै व्यक्तिगत सुरक्षा सामग्री र आवश्यक सावधानी अपनाउन सकिरहेका छैनन्।

मानिसको भिडभाड रोक्नुपर्ने भएकाले चाहेर पनि उनीहरुले सामजिक दूरी कायम गर्न सक्दैनन्। कपडा कै मास्कमा सुरक्षा दिएर बस्नु परिरहेको छ । हाल उपलब्ध स्रोतसाधनका बीच उच्च मनोबलका साथ सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाही सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाएर उच्च मनोबलका साथ प्रहरीले काम गरिरहेको बताउँछन्। सङ्क्रमण फैलनबाट रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन्। घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार परिचालन गर्ने गरिएको छ।

प्रवक्ता शाहीका अनुसार काठमाडौँको कालीमाटी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा बुधबार सङ्क्रमण देखिएपछि वृत्तलाई नै सील गरेर स्वास्थ्य परीक्षण थालिएको छ। धनकुटा, बारामा एक/एक र कपिलवस्तुमा दुई प्रहरीमा सङ्क्रमण देखिएको छ।

उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल अग्रपङ्क्तिमा खटिने प्रहरीमा सङ्क्रमण हुनसक्छ भन्ने पूर्वानुमान रहेकाले केहीमा लाग्नु स्वभाविक भएकाले प्रहरी अझै सतर्कताका साथ हतोत्साही नभई कार्यस्थलमा खटिएको बताउँछन्।

स्रोत : सेतोपाटी

सम्बन्धित खवर