३५ हजार मानिसलाई खाना पुग्ने बराबरको बाली एक दिनमै नष्ट गर्ने यी किराले ठूलो क्षति पुर्‍याउन सक्छन् ।

अफ्रिकाबाट पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलह नेपालमा पनि छिर्‍यो भने यहाँको बाली कसरी जोगाउने भन्ने चुनौती देखिएको छ । ३५ हजार मानिसलाई खाना पुग्ने बराबरको बाली एक दिनमै नष्ट गर्ने यी किराले ठूलो क्षति पुर्‍याउन सक्छन् ।

विश्वमै चुनौती बनेको यो समस्यासँग जुध्न त्यति सजिलो छैन । यसको नियन्त्रणका लागि अफ्रिकी मुलुकहरूमा मेसिनमार्फत विषादी छरिएको थियो । कतिपय मुलुकले त विषादी छर्कन हेलिकप्टरकै प्रयोग गरेका थिए । भारतको गुजरात र राजस्थानमा सलह नियन्त्रण कार्यालय स्थापना गरिएका छन् । प्रभावित क्षेत्रका दसौं हजार हेक्टरमा विषादी छर्किइएको छ । यसकै लागि ड्रोन तैनाथ गरिएका छन् । दर्जनौं दमकल दल तम्तयार छन् । त्यहीअनुसार वाहनहरूको व्यवस्था छ । त्यहाँको सरकारले विषादी छर्कने थप मेसिन बेलायतबाट किन्दै छ । नेपालले पनि ढिलो नगरी आफ्नो क्षमताले भ्याएसम्मका तयारी गर्नैपर्छ । यो किरा नेपाल पसेन भने त राम्रै भयो, पसिहाल्यो भने तयारी अभावमा पछुताउनुपर्ने अवस्था आउन दिनु हुँदैन ।

यिनले गहुँ, तोरी, कपास, मकै र मसलाजस्ता अनेकौं बाली नष्ट गर्छन् । उसै त, कोरोनाको कहर, त्यसमाथि अमेरिकी फौजी किराले तराईमा मकै र गोलभेंडा लगायतका बाली नष्ट गरिरहेको यो बेला फेरि अर्को हानिकारक किराको जोखिमबाट जोगिन सरकारले बेलैमा रोकथामको तयारी गर्नुपर्छ ।
४ देखि ८ करोडको समूहमा हिँड्ने सलह भारतको पन्जाब, हरियाणा, राजस्थान, गुजरातमा बाली विनाश गर्दै उत्तरप्रदेश, महाराष्ट्रमा प्रवेश गरिसकेको छ । उड्दै जाँदा बाटोका खाद्य बालीलगायत रूखबिरुवा, बुट्यान, झाडी सखाप पार्ने भएकाले वैज्ञानिकहरूले यसलाई खतरनाक किरा मानेका छन् । अफ्रिकी मुलुकहरूमा झैं यसले एसियाली क्षेत्रमा पनि क्षति पुर्‍याउने विशेषज्ञहरूको आकलन छ । सलहले फौजी किराको तुलनामा बालीमा छिटो र कैयौं गुणा क्षति गर्न सक्छ । गर्मीमा यसको स्थानान्तरणको गति तीव्र बन्छ । यसपटक देखा परेको सलहको आकार विगतको भन्दा २० गुणा ठूलो भएको बताइएको छ 

नेपाल पसेमा सलहले तराईका भूभागमा बढी क्षति पुर्‍याउन सक्छ । त्यसैले रोकथाम र नियन्त्रणका सम्पूर्ण उपायहरू अपनाउन जरुरी छ । रोकथामको पहिलो विकल्प यसले नास गर्न सक्ने बालीमा विषादी छर्कने हो । त्यसका लागि मुलुकमा उपलब्ध बीएफसीलगायत विषादी प्रयोग गर्न सकिन्छ । अब ढिलो नगरी विषादी व्यवस्थापन, वितरण, छर्कने मेसिन र जनशक्तिजस्ता पक्षमा ध्यान पुर्‍याउनुपर्छ । दोस्रो, पहिले–पहिले सलह आउँदाको ज्ञान पनि अहिले काम लाग्न सक्छ । सरकारले त्यतिबेलाको अनुभव भएका पुराना व्यक्तिहरूको सुझाव सल्लाह लिनुपर्छ ।

तेस्रो, वर्षामा यो किरा फैलन नसक्ने भएकाले तत्काल लगाउन तयारी गरिएका बढी जोखिम भएका बालीलाई मनसुन सुरु भएपछि मात्र लगाउन सकिन्छ । करिब दुई सातापछि मुलुकमा मनुसन सुरु हुँदै छ, पूर्वी भागबाट सुरु हुने मनसुन पश्चिमसम्म सक्रिय हुन कति समय लाग्छ, त्यसले पनि यहाँ सलह फैलिने–नफैलिने निक्र्योल गर्छ । चौथो, सलहविरुद्ध जुध्न शत्रु किराको उत्पादन र व्यवस्थापन पनि एउटा विकल्प हुन सक्छ । यसका लागि मिचाहा किरा व्यवस्थापन केन्द्र नै स्थापना गर्नुपर्ने विज्ञको सुझाव छ ।

सलह रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरू सम्मिलित समितिले यो किरा भित्रिने जोखिमको अध्ययन गरी पूर्वतयारीका लागि काम गर्ने जनाइएको छ । मन्त्रालयले सुदूरपश्चिम र प्रदेश ५ का सम्बद्ध निकायलाई यसबारे सतर्क रहन जानकारी गराइसकेको जनाएको छ । नियन्त्रणका उपायहरू प्रभावकारी बनाउन सूचना प्रणाली पनि चुस्त बनाउनुपर्छ । कहीँ–कतै यो देखिएमा सरकारलाई जानकारी गराउने र तत्कालै प्रतिकार्यका लागि तम्तयार रहने प्रणाली व्यवस्थित गरिनुपर्छ ।

मिचाहा किरा प्रजाति र सलहजस्ता किरा बढ्नुमा जलवायु परिवर्तन कारक रहेको विज्ञहरूको मत छ । त्यसैले हामीले सदैव पैरवी गर्नुपर्ने ठूलो मुद्दा जलवायु परिवर्तन हो । जलवायु परिवर्तन नेपालका लागि लगभग नखाएको विष लागेसरह हो । तैपनि, उत्पन्न परिस्थितिको सामना नगरी सुख छैन । कामना गरौं, नेपालमा सलह नभित्रियोस्, भित्रिहालेमा हामीले सकेसम्म कम क्षति बेहोर्ने गरी रोकथाम र नियन्त्रणका उपाय अपनाउन सकियोस् ।

सम्बन्धित खवर