कोरोना संक्रमित अचम्मको तथ्यांक नेपालमा

२९ जेठ, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभरि ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण प्रमाणित भएको छ । कोरोना भाईरस संक्रमण मध्ये पुरुष ४ हजार ५५ र महिला ३०९ जना छन् ।

उमेर समूहको हिसाबले हेर्दा सबैभन्दा बढी संक्रमण युवाहरूमा देखिएको छ । ६० प्रतिशत संक्रमित २१ देखि ४० वर्षका छन् । २१ देखि ३० वर्षका संक्रमित ३९ प्रतिशत छन् । ८६ प्रतिशत संक्रमित ११ देखि ४० वर्षका छन् ।

ज्येष्ठ नागरिक १ प्रतिशत भन्दा कम

चीनमा गरिएको एक अध्ययन अनुसार त्यहाँ ६० वर्ष भन्दा बढी उमेर भएका संक्रमित झण्डै एक तिहाई थिए । ४४ हजार ६७२ मा गरिएको उक्त अध्ययन अनुसार संक्रमित मध्ये ३१ प्रतिशत भन्दा बढी ज्येठ नागरिक थिए भने ३ प्रतिशतभन्दा बढी संक्रमित ८० वर्ष भन्दा माथिका थिए । नेपालमा ६१ वर्ष भन्दा माथि संक्रमित १ प्रतिशत भन्दा कम छन् ।

बुधबारसम्मको तथ्यांक अनुसार ६१ वर्षभन्दा बढी उमेर पुगेका ४० जनामा संक्रमण देखिएको थियो । उनीहरू धेरैले स्वास्थ्य लाभ गरिसकेका छन् । भने ३ जनाको मृत्यु भएको छ ।

नेपालमा ८० वर्ष भन्दा माथि १ जनामा कोरोना सक्रमण देखिएको थियो । बाग्लुङकी ६५ वर्षीय महिलाले दमको समस्याका बावजुद कोरोना जित्न सफल भइन् ।

२ वर्ष देखि ७६ वर्ष सम्मका मृतक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । सबभन्दा कम उमेरकी बाजुरा जिल्लाकी २ वर्षीय बालिका र बढी उमेरका दोलखा जिल्लाका ७६ वर्षीय पुरुष छन् भने ८ जना ५० वर्षभन्दा कम उमेरका र ७ जना ५१ वर्षभन्दा बढी उमेरका छन् ।

नेपालमा युवामा बढी संक्रमण किन ?

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार ८५ प्रतिशत भन्दा बढी संक्रमित भारतबाट आएका हुन् । बुधबार प्रतिनिधि सभामा गरिएको उनको सम्बोधनलाई आधार मान्ने हो भने ३७ सय ९ संक्रमित भारतबाट आएका हुन् ।

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित धेरै जसो संक्रमण विदेशबाट आएका देखिएकाले युवाको संख्या बढी भएको बताउँछन् । उनी भन्छन्, ‘रोजगारीका लागि जानेहरू अधिकांश युवा उमेरका छन्, अहिले विदेशबाट फर्किनेमा धेरै केस देखिएकाले युवाको संख्या धेरै देखिएको हो ।’

कम जोखिमपूर्ण भनेका युवाहरूमा मृतक संख्या बढी देखिनु, धेरैजसो संक्रमितमा लक्षण नदेखिनु जस्ता कुरा थप अध्ययनको विषय भएको डा. दीक्षित बताउँछन् ।

सम्बन्धित खवर