तीन मेसिन थपिँदै कर्णालीमा कोरोना परीक्षणको दायरा बढाइँदै,

कर्णालीका थप तीन ठाउँमा पीसीआर मेसिन सञ्चालनको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक रीता भण्डारीका अनुसार दैलेखको जिल्ला अस्पताल, दुल्लु नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको समन्वयमा चौरजहारी अस्पतालबाट पीसीआर परीक्षण थाल्ने तयारी गरिएको हो । कोरोना भाइरसका संक्रमितहरु बढ्दै जाँदा परीक्षणको दायरा बढाउने तयारी गरिएको छ ।

कर्णालीको सबैभन्दा बढी कोरोना संक्रमित देखिएकोे दैलेखमा परीक्षणका लागि पीसीआर मेसिन आइपुगेको छ । दैलेखको नारायण नगरपालिकाले ३५ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो । सो मेसिन शुक्रबार नै जिल्लामा पुगेको छ । मेसिन पुगे पनि सञ्चालनमा आउन भने केही समय लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निराजन पन्तले बताए ।

‘पीसीआर मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला अस्पतालसँग छैन,’ डा. पन्तले जानकारी दिए, ‘पशु अस्पतालको प्रयोगशालामा मेसिन जडान गर्नेगरी प्रयोगशाला सेटअपमा लागेका छौँ ।’ ल्याब जडानका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले दैलेखमा बायोइन्जिनियर खटाइसकेको छ ।

सम्बन्धित खवर