रामेछाप जिल्लामा थप ३ जनामा कोरोना पुष्टि, १३ जनालाई डिस्‍चार्ज गर्ने तयारी

रामेछाप जिल्लामा थप ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफ्रिङमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाण्डौ गरिएको परीक्षणमा शनिबार १ महिला र २ जना पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको जानकारी दिएका हुन्।

रामेछाप जिल्लाबाट स्वाब परीक्षणका लागि पठाइएकामध्ये लिखु तामाकोसी गाउँपालिका-४ का ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको जिल्ला अस्पताल रामेछापका डा आनन्द आचार्यले बताए। उनीहरुमध्ये २५ वर्षीय पुरुष र २५ वर्षीया महिला श्रीमान-श्रीमती हुन् भने अर्का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । डा.आचार्यकाअनुसार भारतबाट आएपछि उनीहरु लिखु तामाकोसी गाउँपालिका -४ कोटगाउँस्थित भृङ्गेश्वर माविको क्वारेन्टाइनमा बसिरहेका हुनाले उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल रामेछापामा ल्याउने तयारी भइरहेको छ बताए ।

रामेछापमा जेष्ठ २३ गते संक्रमण पुष्टि भएका १७ जनामध्ये १३ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ। जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेका १६ जनामध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएकाले गाउँपालिकाको समन्वयमा डिस्चार्ज गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिए ।

‘लिखुतामाकोसी गाउँपालिकाका २ जना र गोकुलगंगा गाउँपालिकाका ११ जनाको आज पिसिआर विधिबाट पुन: परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो, लिखु तामाकोसीका ३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।’ उनले भने, ‘पोजिटिभ रिपोर्ट आएको १४ दिनभन्दा बढी आइसोलेसनमा राखेर उपचार गरेपछि घर पठाउन सकिने निर्देशिका भएकाले र उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएकाले घर पठाउने तयारी गर्दैछौं।’ अस्पतालमा ल्याएको १४ दिन कटिसकेको भएपनि रिपोर्ट कुरेर बसेकाले हालसम्म डिस्चार्ज नगरिएको उनले बताए।

१७ जनामध्ये लिखुतामाकोसी गाउँपालिका -७ का २६ वर्षीय पुरुषलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा रेफर गरिएको थियो। तिल्पुङका २६ वर्षीय पुरुषलाई आएकै दिनदेखि ज्वरो आएको र उपचार गर्दासमेत ज्वरो कम हुन नसकेपछि जेठ २९ गते पाटन अस्पतालमा पठाइएको हो।

जेष्ठ २३ गते १७ जना र जेष्ठ ३२ गते लिखु तामाकोसी गापा-३ का २९ वर्षीय पुरुष र मन्थली नगरपालिका-४ का १९ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको थियो। जिल्ला अस्पताल रामेछापमा हाल १८ जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

सम्बन्धित खवर