काठमाडौं । प्रहरी जिम्मेवारीअन्तर्गतको एउटा आकर्षक काम मानिन्छ, विशिष्ट व्यक्तिको सुरक्षार्थ खटिनु । तिनलाई निजी सुरक्षा अधिकृत ९पीएसओ० भनिन्छ । विशिष्ट व्यक्तिमध्ये पनि पटक पटक मुलुकको प्रधानमन्त्री हुने व्यक्तिको पीएसओ हुने कुरामा त तछाडमछाड नै चल्ने गर्छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० को पीएसओ हुने भनेपछि प्रहरी अधिकृतहरु टाढैबाट छेउ लाग्न थाल्छन् । अहिले प्रचण्डको सुरक्षार्थ डीएसपी सिद्धराज न्यौपाने खटिएका छन् । उनी त्यहाँ खटिएको ३ वर्ष भयो । उनलाई बदली दिन कसैले चाहेका छैनन् । कारण हो, पहिला खटिएका पीएसओले पालैपालो दुःख पाउनु ।

कुनै पनि प्रहरी कर्मचारीलाई एउटा जिम्मेवारीमा एक वर्षभन्दा बढी नराख्ने प्रहरी नीति हो । तर, न्यौपाने प्रचण्डको पीएसओ भएको ३ वर्ष भयो । पठाइनुपर्ने प्रहरी अधिकृत नपाइँदा न्यौपाने ३ वर्षदेखि त्यहाँ बस्न बाध्य छन् । किनभने, उनको सुरक्षार्थ खाटिने प्रहरी अधिकृत प्रत्येक बढुवादेखि पोष्टिङसम्ममा असुरक्षित रहँदै आएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार ६३ एसपीको सरुवा निकाल्दा प्रचण्डका पीएसओ रहिसकेका कोही पनि एसपी परेनन् । बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ बसेकै नाताले एसपी राजन लिम्बू संगठनको सरुवा मापदण्ड तोडेर एक जिल्लाबाट अर्को जिल्लामा प्रहरी प्रमुख हुन पुगेका छन् । तर, जागिरे जीवनमा संगठनले खटाएर प्रचण्डको पीएसओ बन्न गएका कतिपय एसपीले सोमबारको सरुवामा ठाउँ पाएनन् । पाउन लागेकाको नाम पनि काट्नुपरेको प्रहरीस्रोत बताउँछ ।

इन्स्पेक्टर दर्जामा प्रचण्डको पीएसओ रहेका एसपी नरेशराज सुवेदी सर्लाही प्रहरी प्रमुख हुँदा २०७९ पुस ४ मा कार्यअवधि नपुगी त्यहाँबाट तानिएका थिए । त्यही मितिमा बाँके प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका सन्तोषसिंह राठौर पनि तानिए । उनी पनि डीएसपी दर्जामा र प्रचण्ड प्रधानमन्त्री हुँदा पीएसओ थिए ।

राठौरको जस्तै दुःख पाए, विनोद घिमिरेले । हाल एसपी दर्जामा इटहरी ट्राफिक प्रमुख रहेका घिमिरेले डीएसपी दर्जामा प्रचण्डको पीएसओको जिम्मेवारी सम्हालेका थिए । फलतः डीएसपीबाट एसपी बढुवा ढिलो पाए ।

२०८० चैत १४ मा डीएसपीबाट एसपी बढुवा सिफारिस हुँदा घिमिरे आफूभन्दा जुनियरको मुनि, अर्थात् अन्तिम नम्बरमा परेका थिए । उक्त बढुवामा पहिलो नम्बरका डीएसपी प्रदीपकुमार क्षेत्री छुटाइँदा प्रधानमन्त्री केपी शर्मा ओलीका दुई पीएसओ माथिल्लो नम्बरमा बढुवा भए ।

उक्त बढुवामा ओली २०७२ सालमा प्रधानमन्त्री हुँदाका पीएसओ सन्तोष तामाङ र २०७५ मा पीएसओ भएका राजन लिम्बुले अन्य डीएसपीलाई उछिनेका थिए । जबकी इन्स्पेक्टरबाट डीएसपी बढुवामा लिम्बु ८ र तामाङ ९ नम्बरमा थिए ।

त्यस्तै दुःख पाए, भूपूएसपी दानबहादुर मल्लले । चितवन प्रहरी प्रमुख हुँदा उनी त्यहाँबाट ‘घण्टे आदेश’ मा सरुवा भए । एसएसपीमा दरबन्दी खालि थियो । तर, बढुवा नदिई दिपायलबाट अवकास दिइयो ।

चितवनमा उनले रास्वपा सभापति रवि लामिछानेलाई पहिलोपटक थुनामा राखेका थिए । त्यसबेला लामिछाने पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका हुन् ।

को कसका रु

सोमबार सरुवा भएका ६३ एसपीमध्ये जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका अधिकांश एसपी संगठनको रुचिभन्दा राजनीतिक दबाबमा बढी सरुवा भएको प्रहरी स्रोतले जनाएको छ ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पीएसओ रहिसकेका कोमल शाह काभ्रेपलाञ्चोलक प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

वर्तमान प्रधानमन्त्री ओलीका ०७२ सालका पीएसओ सन्तोष तामाङ यसअघिकै बढुवामा बारा सरुवा भइसकेका छन् भने ०७५ का पीएसओ लिम्बूले एक जिल्लाबाट सीधै अर्को जिल्ला प्रमुखका रूपमा जाने कीर्तिमान नै रचेका छन् ।

यसपटकको सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको पनि राम्रै चलखेल भयो । आयुक्त तथा प्रहरीका भूपू एआईजी जयबहादुर चन्दको सिफारिसमा बाग्लुङ प्रहरी प्रमुखका रूपमा तिलक भारती सरुवा भएका छन ।

बागलुङ पठाउनका लागि गृहमन्त्री रमेश लेखकको सचिवालयले नारायणप्रसाद अधिकारीको नाममा दबाब दिएको थियो । तर, अख्तियारका अगाडि गृहको केही चलेन ।

परराष्ट्रमन्त्री तथा पार्टी सभापतिपत्नी डा।आरजु देउवाको सिफारिसमा बालनरसिंह राणा कैलाली सरुवा भए ।

सबैभन्दा बढी चलखेल हुने रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारीलाई आईजी दिपक थापाले आफ्नो मुठ्ठीभन्दा बाहिर जान दिएनन् । उनैले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सकारात्मक बनाएर प्रदीपबहादुर क्षेत्रीलाई त्यहाँ पठाएका हुन् । त्यहाँ गोविन्द पुरीलाई पठाउनका निम्ति उच्च राजनीतिक दबाब थियो । तर, पुरी चितवनमा परे ।

उनले जिल्ला प्रहरी प्रमुखका रुपमा पठाउन चाहेका अंगुर जिसी, दयानिधी ज्ञवालीसहितका एसपी यो सरुवामा छुटेका छन् ।

पथलैया ट्राफिक पठाइएका राजकुमार सिलवाल, बुटवल ट्राफिक पठाइएका मित्रबन्धु शर्मा, सुर्खेत पठाइएका सुधीरराज शाही, स्याङ्जा गएका दधिराम न्यौपाने, धनुषाका नरहरि रेग्मी, राजमार्ग सुरक्षा ट्राफिक तनहुँ गएका दानबहादुर थापा र कञ्चनपुर प्रहरी प्रमुख खड्गबहादुर खत्री आईजी थापाले विभागीय कार्यक्षमताका आधारमा सरुवा गरेका एसपी हुन् ।

फकाई फकाई सरुवा

प्रहरीको जिल्ला प्रमुख हुन एसपी र डीएसपीबीच तछाडमछाड चल्ने गरेको छ । तर, एसपी प्रमुख हुने केही जिल्लाका निम्ति सरुवा गइदिन प्रहरी प्रमुख आफैँले उनीहरुलाई फकाउनुपरेको प्रहरीस्रोतले जनाएको छ ।

तराईको जिल्ला भए पनि काम गर्न अप्ठेरो हुने कारण एसपीहरु प्रायः चितवन, कैलाली, कञ्चनपुर जान चाहँदैनन् । गृह मन्त्रालयले प्रथम श्रेणीका अधिकृत ९सहसचिव० लाई सिडीओ खटाउने कारण प्रहरीले पनि एसपी खटाउनु परेका जिल्लाहरु धनकुटा, स्याङ्जा, गुल्मी, दिपायलमा एसपीहरु सकेसम्म जान नपरोस् भनेर दौडधुप चलाइरहेका थिए ।

सरुवा सूची प्रकाशित गर्नुपूर्व सोमबार विहान उनी ती जिल्लामा गइदिनका लागि फोन गरेर एसपीलाई फकाइरहेका थिए ।

प्रहरीस्रोतका अनुसार कैलाली सरुवा भएका एसपी राणालाई आईजी थापाले गुल्मी पठाउन खोजेका थिए । तर, कार्यालय प्रमुखका रूपमा आफ्नो अन्तिम जिम्मेवारी हुने कारण तराईमै जाने चाहना राणाले राखे । त्यसपछि उनी चितवनका लागि तयार पारिएका थिए । तर, कैलाली जाने एसपी नभेटिएपछि आईजीको अप्ठेरो बुझेर राणा आफैंले कैलाली जिल्ला रोजेका हुन् । यो खबर नेपाल प्रेसबाट साभार गरिएको हो ।