कनकाई । झापाको कनकाई नगरपालिकाले गत आवमा १६ हजार प्याकेट सेनेटरी प्याड खरिद गरेको छ । अन्य पालिकाहरूभन्दा प्रति प्याकेट २४।६० रुपैयाँ बढी भुक्तानी गर्दा ३ लाख ९३ हजार ६ सय रुपैयाँ बढी व्ययभार भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । 

त्यसैगरी नगरपालिकाले  गत आर्थिक वर्षमा भ्रमण भत्तामा मात्रै ४० लाख ४० हजार ९५७ रुपैयाँ खर्च गरेको छ । पालिकाले असम्बन्धित व्यक्तिहरूलाई समेत भ्रमण भत्ता उपलब्ध गराएको पाइएको छ । अनिता अधिकारीलाई १९ हजार, राजु श्रेष्ठलाई २२ हजार ५ सय, हरिप्रसाद गुरागाईँलाई २४ हजार र अक्कलमान महर्जनलाई ८ हजार भत्ता उपलब्ध गराएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

नायव महालेखापरीक्षक श्रीकुमार राईका अनुसार वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ ९१०० मा जिम्मेवार व्यक्तिले सरकारी कामको खर्च लेख्नुअघि भुक्तानी दिँदा रित पुगे नपुगेको जाँच गर्नु पर्ने भए पनि त्यसो नगरेको पाइएको हो । कनकाई नगरपालिकामा आर्थिक वर्ष ०७९र८० सम्मको अद्यावधिक बेरुजु १६ करोड १५ लाख ६२ हजार रहेको छ ।

गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ बमोजिम पालिकाका पदाधिकारी भ्रमण गर्दा आफ्नो पालिकाभन्दा बाहिर बास बस्नु पर्ने गरी भ्रमण गर्नुपरेमा पालिका अध्यक्षले ३ दिनसम्मको भ्रमण आफै र सो भन्दा बढी ७ दिनसम्मको कार्यपालिकाको बैठकबाट स्वीकृत गर्नुपर्नेमा सो अनुसार नगरेको महालेखाले जनाएको छ ।

कतिपय भ्रमण आदेश स्वीकृत नभएको, भ्रमण अभिलेख खाता प्रयोग नगरेको, भ्रमण आदेशमा भ्रमणको उद्देश्य, कारण र भ्रमणबाट प्राप्त हुने सम्भावित प्रतिफल स्पष्ट उल्लेख नगरी भ्रमण गरेको र फर्किदा प्रतिवेदन पेस नगरेको महालेखाले उल्लेख गरेको छ ।