बिर्तामोड : आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउंपालिका बर्ष ४२  की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ ।

ताप्लेजुङ घर भई हाल बिर्तामोड ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो ।  उनको दुई दिन देखि बिर्तामोड स्थित पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । 

९ बर्ष अघि नै घर छोडेर हिंडेका उनका श्रीमानको अहिले सम्म अत्तो पत्तो छैन ।  ३ वटा छोरी र १ जना छोराकी आमा भट्टराई अहिले उपचारकालागि सबै संग हार गुहार मागिरहेकी छिन् । 

उनी ज्यालादारीमा  अलैंची कटिङ गरेर आफ्नो छोराछोरीको पठाई खर्च संगै घर चलाउंदै आएकी थिइन् । तर उनी अहिले थलिएसंगै बाल बच्चाको पनि पठाई संगै घर खर्चमा समस्या भएको उनी बताउंछिन् ।  उनी करीब ४ –५ बर्षदेखि बिरामी छिन् । 

उनी बिर्तामोड ५ स्थित व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईको घरमा बस्दै आएकी छन् । उनको दयनिय अवस्था देखेर निर्मलले निशुल्क रुपमा करीब ६ बर्षदेखि एउटा कोठा उपलब्ध गराउंदै आएका छन् । 

काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसंगै आफुलाई बचाइदिन उनले अस्पतालको शैयाबाट सबैलाई आग्रह र अनुरोध गरेकी छन् । 

 व्यवसायी तथा समाजसेवी निर्मलका अनुसार सबै साथीभाई सहित आफन्तहरुले सहयोग जुटाएर अहिले सम्म उनको उपचारमा झण्डै १५ लाख रकम खर्च भइसकेको छ ।  

चिकित्सकको भनाईलाई उद्धत गर्दै भट्टराईको आफन्त शान्ता विष्टका अनुसार केहि बर्ष अघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारकालागि उनलाई बिराटनगर लगिएको थियो । 

उनको त्यो समस्या निर्मुल भए पनि अहिले उनलाई फोक्सोमा समस्या  तथा मुटुमा प्वाल रहेको र दांया पट्टिको ब्रेनको एउटा नसा सुकेको र  कोलस्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् ।  

बिष्टका अनुसार चिकित्सकले उनको उपचारकालागि अहिले मोटो रकम लाग्ने बताएका छन् ।  

उनलाई क्यानसर नभए पनि फोक्सोमा गांठाहरु रहेको चिकित्सकले बताएका छन् । भने केहि रिपोटहरु उनको आउन बांकी रहेको बताइएको छ । पैसाको जोहो गर्न सके उनी चांडै सामान्य अवस्थामा फर्कन सक्ने चिकित्सकले बताएका छन् । 

 अहिले सम्पत्तिका नाममा उनको केहि पनि छैन ।   रामप्यारीको  उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले  आग्रह गरेका छन् । 

सहयोगका लागि बिरामी भट्टराईको छोरी मनुका भट्टराईको  नाममा एनआइसी एसीया बैंक बिर्तामोड शाखामा रहेको खाता नम्बर  ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

त्यस्तै उनको  उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनको छोरीको  मोवाईल नम्बर ९८१८६७४६५४ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सक्नेछन् ।