झापा। झापाको मेचीनगर–१० धुलाबारीस्थित चाँदनी चोकमा राष्ट्रिय विभूति तथा नेपाल सम्वतका प्रवर्तक शङ्खधर साख्वाको पूर्णकदको प्रतिमा अनावरण गरिएको छ।

20261110_113850

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान मेचीनगर–१० को आयोजनामा नेपाल संवत् ११४७ को अवसर पारेर आज मंगलबार आयोजित विशेष समारोहबीच प्रतिमाको अनावरण गरिएको हो। 

प्रतिमाको अनावरण कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् ।  

नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रिय एकताका प्रतीक शङ्खधर साख्वाले जनताको ऋण मोचन गरी नेपाल संवत् प्रारम्भ गराउनुभएको ऐतिहासिक योगदानको सम्मानस्वरूप प्रतिमा निर्माण गरिएको प्रतिष्ठानले जनाएको छ।

 एउटै ढुङ्गालाई कुँदेर तयार गरिएको प्रतिमा निर्माणमा करिब २० लाख रुपैयाँ खर्च भएको प्रतिष्ठानका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए । 

परम्परागत भक्तपुरे शैलीमा शालिक र त्यसको संरचना निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष  शाक्यले जानकारी दिनुभयो।

आफ्ना पिता स्वर्गीय भक्तमान शाक्यले नेवारी संस्कृति र शङ्खधर साख्वाको पहिचान संरक्षणमा देखाउनुभएको चासोलाई निरन्तरता दिँदै परिवारको सल्लाहमा जग्गा उपलब्ध गराएर शालिक निर्माणमा योगदान गरेको दिनेश शाक्यले बताउनुभयो। उहाँका अनुसार उक्त जग्गा परिवारले करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको थियो।

धुलाबारीका प्रतिष्ठित नेवार समुदायका भक्तमान शाक्यको परिवारले उपलब्ध गराएको निजी जग्गामा मेचीनगर नगरपालिका र कोशी प्रदेश सरकारलगायतको लागत सहभागितामा प्रतिमा निर्माण गरिएको हो।

 भक्तपुरे परम्परागत वास्तुकला शैलीमा प्रतिमा राख्ने स्थलसमेत निर्माण गरिएको छ।

प्रतिमा अनावरणअघि धुलाबारी चोकबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको थियो। 

नेपाल संवत् कुनै एक समुदायको मात्र नभई समग्र नेपालीको मौलिक संवत् भएको उल्लेख गर्दै कार्यक्रममा सहभागी वक्ताहरूले यसको संरक्षण, प्रवर्द्धन र राष्ट्रिय पहिचान स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।

सोही अवसरमा नेपाल संवत्को प्रचारप्रसार तथा पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएका अग्रज पत्रकार एवं मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाललाई प्रतिष्ठानले सम्मान गरेको छ । 

कार्यक्रममा सम्मानित व्यक्तित्व दाहाल, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती तथा नगरप्रमुख बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए । 

 वक्ताहरूले शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै मौलिक संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । 

प्रतिष्ठानका सचिव मिलनराज प्रसाईले  सञ्चालन गरेकाे  कार्यक्रममा अग्रज पत्रकार तथा सामाजिक व्यक्तित्व चन्द्र भण्डारीले स्वागत मन्तव्य राखेका थिए । 

 चाँदनी चोकमा शङ्खधर साख्वाको पूर्णकदको प्रतिमा निर्माण तथा अनावरणले धुलाबारीको सांस्कृतिक पहिचानलाई थप स्थापित गर्नुका साथै नयाँ पुस्तालाई नेपालको मौलिक इतिहास र नेपाल संवत्को महत्वबारे जानकारी गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।