झापाको बिर्तामोड नगरपालिका–२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।

शनिबार आज आयोजित एक समारोहबीच पद हस्तान्तरणसँगै नवनिर्वाचित पदाधिकारीले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। कार्यक्रममा निवर्तमान पदाधिकारीले संस्थाको जिम्मेवारी नयाँ नेतृत्वलाई हस्तान्तरण गरेका थिए। 

WhatsApp Image 2026-11-07 at 19.37.42 (1)

सहकारी संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको नेतृत्व चयनका लागि गत असोज १० गते निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका थिए। खतिवडाले २१ हजार ९८४ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी उपेन्द्रप्रसाद ओलीले ७ हजार ३९७ र भरतकुमार गिरीले ४ हजार २६३ मत प्राप्त गरेका थिए।

WhatsApp Image 2026-11-07 at 19.37.42 (2)

दुवै समितिको नेतृत्व चयनका लागि तीनवटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचनमा खतिवडा नेतृत्वको प्यानलले दुवै समितिमा विजय हासिल गरेको थियो।

त्यसैगरी, संस्थाको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल निर्वाचित भएका थिए। उनले १८ हजार ९३९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टेकनाथ खनालले ४ हजार ७९९, हेमराज गिरीले ४ हजार ९५ र ज्ञानुनाथ मैनालीले ५ हजार ६२७ मत प्राप्त गरेका थिए।

महिला उपाध्यक्षमा पार्वता भारती गिरी निर्वाचित भएकी थिइन्। उनले २० हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी खिममाया बस्नेतले ५ हजार ५१०, गुहेश्वरी बुढाथोकीले ३ हजार ५८६ र हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गरेका थिए।

कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य १९ हजार ५६३ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी भीमबहादुर गिरीले ७ हजार ४३ र भोला धितालले ६ हजार २४२ मत प्राप्त गरेका थिए।

WhatsApp Image 2026-11-07 at 19.39.16

नौ सदस्यीय सञ्चालक समितिको खुला सदस्यतर्फ नारायणप्रसाद गिरी, मदनराज कटुवाल र रमेश सेढाईं निर्वाचित भएका थिए। महिला सदस्यतर्फ राधिका चुडाल हुमागाईं र शिखा खड्का निर्वाचित भएका थिए।

त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा निर्वाचित भएका थिए। उनले १२ हजार ५७० मत प्राप्त गरेका थिए। समितिको सदस्यमा बबिता घिमिरे र सुनील कार्की निर्वाचित भएका थिए।

पदभार ग्रहणसँगै नवनिर्वाचित पदाधिकारीले संस्थाको उद्देश्य, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै सदस्यको हित र संस्थाको विकासमा प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। संस्थागत सुशासन, पारदर्शिता र सदस्यको विश्वासलाई प्राथमिकतामा राख्दै सहकारी अभियानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए।

देशकै ठूलो सहकारी संस्थामध्ये एकका रूपमा रहेको सहारा नेपालको कार्यक्षेत्र छ जिल्लामा फैलिएको छ। संस्थामा एक लाख ९७ हजार ५५२ जना मतदाता रहेका थिए भने ८० वटा केन्द्रमार्फत सेवा प्रवाह हुँदै आएको छ। निर्वाचनमा १२ पदका लागि ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

निर्वाचन समितिका संयोजक खगेन्द्र खरेलले नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई खादा, माला र अबिर लगाएर सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको थियो।

निवर्तमान अध्यक्ष हरी राजवंशीले निर्वाचित छबिलाल खतिवडाले संस्थाको माइन्युट हस्तातरण गरेका थिए भने संस्थाको कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाले निर्वाचित लेखा सुपरिवेक्षण समितिको संयोजक डम्बरबहादुर देउजालाई लेखाको माइन्युट हस्तानतरण गरेका थिए । कार्यक्रममा   कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाले शुभकामना मनतब्य राखेका थिए ।

निर्वाचित खतिवडाले संस्थागत विकासमा आगामी रणनीतिका बिषयमा प्रतिबद्धता मनतब्य राखेका थिए । संस्थाको समग्र अवस्थाको बारेमा कार्यकारी महेन्द्रकुमार गिरीले उपस्थितलाई जानकारी गराएका थिए । 

पद हस्तानतरण कार्यक्रममा संस्थाले प्रोडक्ट लन्च आफ्नै घर होस कर्जाको लन्च गरेको छ । स्थापनकालका जेष्ठ सदस्यले एक समारोहकाबिच प्रोडक्ट लन्च कर्जाको लन्च गरेका हुन् ।