झापा । झापाको मेचीनगरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–८ स्थित टोक्ला चिया बगानभित्र झाडीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले ५ सय ५० किलो गाँजा फेला पारेको हो।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार शुक्रबार बिहान गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक जसबहादुर लिम्बुको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो। बगानभित्र १५ वटा बोरामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा कसले, कहाँबाट ल्याएर कुन गन्तव्यमा पुर्‍याउन खोजेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय झापासहित पूर्वी नेपालका सीमा क्षेत्रलाई प्रयोग गरी गाँजा भारततर्फ तस्करी हुने गरेको आशंका गरिएको छ।

यसअघि पनि मोरङ, झापा र इलामका विभिन्न सीमा क्षेत्रमा गाँजा तस्करीका घटना सार्वजनिक हुँदै आएका छन्।