झापा । कौशल्या सिजापति भण्डारी कुलवंश विकास समितिको प्रथम अधिवेशन आज झापाको अर्जुनधारा नगरपालिका–५ स्थित श्री शोभा भगवती नवदुर्गा पञ्चायन धाम, लक्ष्मीपुर बुधबारेमा सम्पन्न भएको छ।
अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष गीताराम खड्काको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनले कुलवंशको इतिहास, पहिचान, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै भण्डारी बन्धुबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिएको छ।
अधिवेशनमा अध्यक्ष चन्द्र भण्डारीले समितिको अध्यक्षयकाे प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म भएका गतिविधि, संस्थागत प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। त्यसैगरी कोषाध्यक्ष गौरीप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै समितिको भावी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सहभागीहरूले चासो व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खड्काले कुलवंशको पहिचान र पुर्खाको इतिहास संरक्षण गर्नु नयाँ पुस्ताका लागि महत्वपूर्ण रहेको बताए।
उनले सामाजिक एकता, आपसी सहयोग र सांस्कृतिक परम्पराको निरन्तरताका लागि यस्ता संस्थागत गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
त्यसैगरी कोशी प्रदेश हिमरे कुल प्रतिष्ठानका सचिव डम्बर घिमिरेलगायतले शुभकामना मन्तव्य राख्दै कुलवंशको इतिहास र मौलिक पहिचानलाई जीवन्त राख्न सबै भण्डारी बन्धु एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
उनीहरूले पुर्खाले स्थापित गरेका संस्कार, संस्कृति र परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न संस्थाले योजनाबद्ध रूपमा काम गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा कौशल्या सिजापति भण्डारी कुलवंश विकास समितिका सदस्य गणेश भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव गोपाल भण्डारीले गरेका थिए।
अधिवेशनमा उल्लेख्य संख्यामा भण्डारी बन्धुहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा ताप्लेजुङ जिल्ला अध्यक्ष राजेन्द्र भण्डारी, इलामका यमनाथ भण्डारीलगायत विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका कुलबन्धुहरूको उपस्थिति रहेको थियो।
कुलवंशको इतिहास र पहिचानको संरक्षण, वंशावलीको खोज तथा अभिलेखीकरण, धार्मिक एवं सांस्कृतिक परम्पराको निरन्तरता र
देशभर छरिएर रहेका भण्डारी बन्धुबीच सम्पर्क, समन्वय तथा एकताको विकास गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको आयोजकले जनाएको छ।







































