इलाम । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा चिया पर्यटनलाई स्तरीय आतिथ्य सेवासँग जोड्ने उद्देश्यले ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ। पर्यटकको बसाइ लम्ब्याउँदै स्थानीय उत्पादन, मौलिक खानपान, संस्कृति र चियाको अनुभवलाई एउटै पर्यटन प्याकेजमा जोड्ने लक्ष्यसहित वृक्षालय सञ्चालन गरिएको हो।

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको संरचनालाई उपयोग गर्दै वृक्षालय सञ्चालनमा ल्याइएको हो। २०८० सालमा निर्माण सम्पन्न भए पनि लामो समयसम्म पूर्णरूपमा उपयोगमा आउन नसकेको उक्त संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो।
सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रक्रियामार्फत २०८१ असार १८ गते उत्तम प्रगति निर्माण सेवाले उक्त संरचना १० वर्षका लागि भाडामा लिएपछि वृक्षालय सञ्चालनमा ल्याइएको सञ्चालक उत्तमकुमार श्रेष्ठले जानकारी दिए। सम्झौताअनुसार उपलब्ध पाँचवटा भवनबाहेक वृक्षालयले आफ्नै लगानीमा करिब दुई करोड रुपैयाँ थप संरचना निर्माणमा खर्च गरेको जनाएको छ।
वृक्षालयले आफूलाई सामान्य होटल व्यवसायमा सीमित नराखी कन्यामलाई ‘घुम्ने ठाउँ’ बाट ‘अनुभव गर्ने गन्तव्य’ का रूपमा विकास गर्ने अवधारणा अघि सारेको छ। इलामको पहिचानसँग जोडिएको चियालाई केवल पेय पदार्थका रूपमा नभई चिया बगान, उत्पादन प्रक्रिया, किसानको श्रम र स्वादसँग जोडिएको पर्यटन अनुभवका रूपमा विकास गर्ने योजना बनाइएको छ।
विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य
वृक्षालयले अमेरिका तथा युरोपेली मुलुकसँगै भारतको बिहार, पश्चिम बंगाल, भुटान, बंगलादेश र म्यान्मारबाट समेत पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ। कन्याममा आएका पर्यटकलाई एउटै होटलमा सीमित नराखी स्थानीय होमस्टे, होटल तथा आसपासका पर्यटकीय गन्तव्यसँग जोडेर समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको श्रेष्ठले बताए।
इलाममा पर्यटकको बसाइ न्यूनतम चार रात पाँच दिनसम्म पुर्याउने उद्देश्यसहित चिया, प्रकृति, स्थानीय उत्पादन, खानपान र संस्कृति केन्द्रित पर्यटन गतिविधि विस्तार गरिने जनाइएको छ।
२५ युवालाई प्रत्यक्ष रोजगारी
विश्व पर्यटन क्षेत्रमा अनुभव हासिल गरी नेपाल फर्किएका ४० वर्षमुनिका चार युवाको सामूहिक लगानी तथा व्यवस्थापनमा वृक्षालय सञ्चालनमा आएको हो। हाल यहाँ २५ जना युवा प्रत्यक्ष रोजगारीमा छन्। रोजगारीमा स्थानीय युवा–युवतीलाई प्राथमिकता दिइएको सञ्चालकले बताएका छन्।
वृक्षालयका अनुसार पछिल्लो छ वर्षदेखि यसको सेवा विभिन्न प्रदेशमा विस्तार हुँदै आएको छ। काठमाडौं, चितवन, लमजुङ, बाँके र इलाममा शाखा सञ्चालनमा रहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य राखिएको छ।
रैथाने खानपान, स्थानीय स्वाद र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै नेपाली आतिथ्यलाई थप व्यवस्थित र स्तरीय बनाउने उद्देश्यसमेत वृक्षालयले अघि सारेको छ।
एउटै परिसरमा चिया केन्द्र र संग्रहालय
वृक्षालय सञ्चालनमा आएको परिसरमै चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र र चिया संग्रहालयसमेत रहेका छन्। यी संरचनाको स्वामित्व तथा व्यवस्थापन भने कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाकै रहेको जनाइएको छ।
इलाम आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कन्यामको प्राकृतिक सौन्दर्य, चिया बगान, कृषिजन्य उत्पादन, स्थानीय संस्कृति र नेपाली आतिथ्यसँग जोड्ने योजना रहेको वृक्षालयका अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताए।
स्थानीय सरकार, समुदाय, व्यवसायी, पर्यटन क्षेत्र र सञ्चारमाध्यमसँगको सहकार्यलाई प्राथमिकता दिँदै कन्यामको पर्यटन विकासमा योगदान पुर्याउने उनले बताए।
वृक्षालयले आफ्नो सेवा र पहिचानका लागि ‘तीन स’—सरसफाइ, सत्कार र स्वाद लाई मूलमन्त्र बनाएको जनाएको छ। कन्यामलाई केवल घुमेर फर्किने गन्तव्य नभई पर्यटकले स्थानीय जीवनशैली, चिया र आतिथ्यको प्रत्यक्ष अनुभव गर्न सक्ने पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
पत्रकार सम्मेलनमा सञ्चालकहरू राजु ढकाल र सन्तोष कुँवरले वृक्षालयको उद्देश्य, सेवा तथा आगामी योजनाबारे धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन तेजेन्द्र शर्माले गरेका थिए।










































