काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विदेश भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै पत्नी वा परिवारका महिला सदस्यलाई लैजाने विगतको अभ्यासमा पनि क्रमभंग गरेका छन् ।
भारतको दुईदिने राजकीय भ्रमणमा बालेन पत्नी सविना काफ्ले सहभागी छैनन् । यसअघिका हरेक प्रधानमन्त्रीले कुनै पनि देशको औपचारिक भ्रमणमा जाँदा पत्नी लैजान छुटाउँथेनन् । पत्नी नभएकाहरुले छोरी लैजाने गरेका थिए । प्रधानमन्त्री शाहले भने त्यस्तो पारिवारिक मोह देखाएका छैनन् । उनले अहिलेसम्म गरेका दुई विदेश भ्रमणमा पत्नी वा परिवारका अन्य सदस्यलाई स्थान दिएनन् ।
आइतबार भारतको नयाँदिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका हुन् । भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी छन् । धेरैले प्रधानमन्त्री पत्नी पनि सूचीमा अटाउने अनुमान गरेका थिए । तर उनी परिनन् ।
विगतका अभ्यास हेर्ने हो भने गिरिजाप्रसाद कोइरालाको पालादेखि नै परिवारका सदस्य साथमा लैजाने गरिएको देखिन्छ । २०४६ सालपछि कोइराला ५ पटक नेपालको प्रधानमन्त्री बने ।
हरेकपटक प्रधानमन्त्री बन्दा उनले प्राय विदेश भ्रमणमा आफ्नी छोरी सुजाता कोइरालालाई साथै लैजान्थे । सन् १९९१ मा भारतको राजकीय भ्रमण गर्दा सुजाता पनि उनीसँगै थिइन् ।
सुजाता कोइराला आफैँले सार्वजनिक गरेको विवरणअनुसार उनी बाबु गिरिजाप्रसादको नेतृत्वमा भारत, चीन, इजरायल, फिनल्यान्ड, जापानलगायत देशको भ्रमणमा सहभागी भएकी थिइन् । गिरिजाले छोरीलाई राजकीय मात्र नभएर औपचारिक तथा सद्भावना भ्रमणमा पनि सहभागी गराएको पाइन्छ ।
नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी सादगीपनका लागि चिनिन्छन् । २०५१ सालमा प्रधानमन्त्री बनेका उनले भारत, चीन र जर्मनीको भ्रमण गरेका थिए । भारत भ्रमणमा जाँदा उनकी पत्नी साधना अधिकारीपनि साथमा थिइन् ।
अर्का कम्युनिष्ट प्रधानमन्त्री माधवकुमार नेपालले सन् २००९ मा भारत भ्रमण गर्दा पत्नी गायत्री नेपाललाई सँगै लगेका थिए । यस्तै डा। बाबुराम भट्टराईले सन् २०११ मा भारतको औपचारिक भ्रमण गर्दा पत्नी हिसिला यमी पनि टोलीमा थिइन् ।
कांग्रेसबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सन् २००२, २०१७ र २०२२ मा भारत भ्रमण गर्दा हरेकपटक पत्नी आरजु राणा देउवालाई सहभागी गराएका थिए ।
केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा भारत र चीन भ्रमण गर्दा पत्नी राधिका शाक्यलाई सँगै लगेका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणमा पत्नी र छोरी दुवै सहभागी भए ।
सन् २०१६ मा भारतको राजकीय भ्रमण गर्दा उनी पत्नी सीता दाहाललाई सँगै लिएर गएका थिए । तर, सीताको स्वास्थ्य अवस्था कमजोर भएपछी उनले छोरी गंगा दाहाललाई भ्रमण टोलीमा सहभागी गराउन थाले ।
अविवाहित प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको हकमा भने पत्नीलाई सहभागी गराउने प्रश्न थिएन । उनीहरु अपवादका रुपमा रहे । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने पत्नी रहेकै अवस्थामा पनि भारत भ्रमणमा उनलाई सहभागी गराएका छैनन् ।
प्रधानमन्त्रीको विदेश भ्रमणमा पत्नी वा परिवारका सदस्यलाई सहभागी गराउनुपर्ने कुनै संवैधानिक वा कानुनी बाध्यता छैन ।
यो कूटनीतिक शिष्टाचार र परम्परागत अभ्याससँग जोडिएको विषय हो । पत्नी सहभागी हुँदा भ्रमण गर्ने देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखकी पत्नी तथा अन्य उच्चपदस्थ व्यक्तिका परिवारसँग छुट्टै भेटघाट र सामाजिक कार्यक्रमसमेत हुने गर्छन् ।
बालेनले भने आफ्नो विदेश भ्रमणलाई सरकारी प्रतिनिधिमण्डल र औपचारिक कार्यसूचीमा सीमित राख्न खोजेको देखिन्छ । पत्नीलाई भ्रमणमा सहभागी नगराउने उनको निर्णयले यसअघिका प्रधानमन्त्रीहरूको अभ्याससँग स्पष्ट भिन्नता देखाएको छ ।
यद्यपि, पत्नीलाई विदेश भ्रमणमा सहभागी नगराउनु आफैँमा कुनै नयाँ कानुनी वा कूटनीतिक मानक स्थापना गर्नु भने होइन ।nepalpress.com










































