झापाको बिर्तामोड नगरपालिका–२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालीहरूको महान् पर्व तिहार तथा छठको अवसरमा देउसीभैलोसहित सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

संस्थाको मुख्य कार्यालय परिसरमा आज शनिबार आयोजित कार्यक्रममा कर्मचारी तथा विभिन्न समितिका पदाधिकारीले देउसीभैलो खेल्दै नाचगान र सांस्कृतिक प्रस्तुतिमार्फत पर्वको खुसी साटासाट गरेका हुन्। कार्यक्रममा कर्मचारीले एक अर्कालाई शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक रूपमा देउसीभैलो खेलेर उत्सव मनाएका थिए।

तिहारको सांस्कृतिक महत्त्व, मौलिकता र सामाजिक सन्देशलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्दै संस्थाका उद्देश्य तथा सन्देश सदस्य र समुदायसम्म पुर्‍याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए।

उनले यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै संस्थामा कार्यरत कर्मचारी तथा विभिन्न समितिबीच आपसी सद्भाव, आत्मीयता र भाइचारा अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । 

कार्यक्रममा उल्लेख्य सङ्ख्यामा कर्मचारीको सहभागिता रहेको थियो। देउसीभैलो, नाचगान र सांस्कृतिक प्रस्तुतिले कार्यालय परिसरलाई उत्सवमय बनाएको थियो। सहकारीले आयोजना गरेको यस कार्यक्रमले संस्थाभित्रको एकता र सहकार्यलाई थप मजबुत बनाउनुका साथै नेपाली मौलिक संस्कृति संरक्षण तथा सामाजिक सद्भावको सकारात्मक सन्देश प्रवाह गरेको छ।