अर्जुनधारा । पूर्वको पशुपतिनाथका रूपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा ४४औँ वार्षिक धार्मिक अनुष्ठान आयोजना हुने भएको छ। अर्जुनधारा नगरपालिका–७ स्थित धाममा आगामी मंसिर १४ देखि २१ गतेसम्म आठ दिन विविध धार्मिक कार्यक्रम सञ्चालन गरिने भएको हो।
अनुष्ठानको पहिलो दिन कलश यात्रासहित नगर परिक्रमा तथा यज्ञ र धान्याचल उद्घाटन गरिनेछ। अनुष्ठान अवधिभर दैनिक मण्डप पूजा, पाठपारायण र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन हुनेछ।
भारतको सिक्किमस्थित मंगलधामका श्रीमद्भागवत भाष्कर गुरुजी श्री १०८ प्रमोद सुधाकर महाराजले कथा वाचन गर्ने कार्यक्रम तय भएको छ।
त्यस्तै, प्रत्येक दिन साँझ पितृमोक्षको कामनासहित गङ्गा आरती, भजनकीर्तन तथा धार्मिक माहात्म्यका कार्यक्रम सञ्चालन हुनेछन्। मंसिर २० गते लक्ष्यवर्तिका प्रज्वलन, धार्मिक झाँकी र रातभर जाग्राम बस्ने कार्यक्रम राखिएको छ।
अनुष्ठानको अन्तिम दिन मंसिर २१ गते बालाचतुर्दशीका अवसरमा बिहान ५ बजेदेखि शतबीज रोपण, पूर्णाहुति तथा तिलकप्रसाद वितरण गरी अनुष्ठान समापन गरिने धामले जनाएको छ।
अनुष्ठानलाई व्यवस्थित बनाउन सुरक्षा, ट्राफिक, आवास, भोजन, स्वास्थ्य, सरसफाइ, प्रचारप्रसारलगायतका क्षेत्र समेटेर २४ वटा व्यवस्थापन उपसमिति गठन गरिएको छ।
धामले अनुष्ठान सञ्चालनका लागि ५५ लाख २० हजार रुपैयाँ आम्दानी तथा खर्च हुने अनुमानित बजेटसमेत तयार गरेको छ।
नेपाल सरकारबाट धार्मिक पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत अर्जुनधारा जलेश्वरधाममा हरेक वर्ष बालाचतुर्दशीका अवसरमा शतबीज रोपणसहित वार्षिक अनुष्ठान हुँदै आएको छ।
यस वर्षको अनुष्ठानमा सहभागी हुन धामले देश तथा विदेशका श्रद्धालु भक्तजनलाई आमन्त्रण गरेको छ।










































