विराटनगर
कोशी प्रदेशमा दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ४१३ वटा सवारी दुर्घटना भएका छन्।
दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ भने ७४६ जना घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दसैँ अवधिमा सबैभन्दा धेरै सवारी दुर्घटना मोरङमा भए पनि मानवीय क्षति सुनसरीमा बढी भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन्। मृतकमध्ये एक जना सवारी चालक र दुई जना बालिका रहेका छन्।
घाइतेमध्ये ३६ जनाको अवस्था गम्भीर र ७१० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा ७१ जना सवारी चालक छन्। ती सबै चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीनवटा चौपायासमेत मरेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक विकास थपलियाका अनुसार दसैँ अवधिमा मोरङमा सबैभन्दा धेरै १७० वटा सवारी दुर्घटना भएका छन्।
ती दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ।
मानवीय क्षतिका हिसाबले सुनसरी सबैभन्दा प्रभावित जिल्ला बनेको छ। सुनसरीमा ८७ वटा दुर्घटना हुँदा आठ पुरुष र दुई महिलासहित १० जनाको मृत्यु भएको प्रहरी निरीक्षक थपलियाले बताए।
त्यहाँ दुर्घटनामा परी १५६ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर छ।
त्यस्तै, झापामा ८४ वटा दुर्घटना हुँदा दुई पुरुष र दुई महिलासहित चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा १३९ जना घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ। उदयपुरमा भएका ३३ वटा दुर्घटनामा तीन पुरुष र एक महिलासहित चार जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुनसरी, मोरङ, झापा र उदयपुरमा भएका दुर्घटनामा मात्रै मानवीय मृत्यु भएको हो।
अन्य जिल्लामा भएका दुर्घटनामा मानवीय क्षति नभए पनि मानिसहरू घाइते भएका छन्।
इलाममा १० वटा दुर्घटनामा २० जना, पाँचथरमा सात दुर्घटनामा १२ जना, खोटाङमा सात दुर्घटनामा नौ जना, ओखलढुंगामा पाँच
दुर्घटनामा सात जना, संखुवासभामा चार दुर्घटनामा छ जना र ताप्लेजुङमा तीन दुर्घटनामा छ जना घाइते भएका छन्।
त्यस्तै, धनकुटा, भोजपुर र सोलुखुम्बुमा एक–एक वटा दुर्घटना हुँदा कुल १० जना घाइते भएका छन्।
तेह्रथुममा भने दसैँ अवधिमा कुनै पनि सवारी दुर्घटना नभएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए।
दसैँ अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४५७ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ती सवारीसाधनलाई कारबाही गर्दा २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको थपलियाले बताए।







































