झापा । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ। 

अर्जुनधारा नगरपालिका–६ पुष्पलाल चोक नजिकैको भित्री सडकमा आज सोमबार मोटरसाइकलले ठक्कर दिँदा स्थानीय जीवन दनुवारकी छोरी जलशा दनुवारको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३ः४५ बजे घरअगाडि हिँडिरहेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिएको थियो। 

ठक्करबाट बालिकाको अनुहार, खुट्टा र पेटमा चोट लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले दिउँसो ४ः३० बजे मृत घोषणा गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीबाट डिएसपी सन्ताेष पाठककाे कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। 

प्रारम्भमा मोटरसाइकल र चालकको पहिचान खुल्न नसकेकोमा प्रहरीले खोजतलास गर्ने क्रममा आज साँझ करिब ६ः२० बजे प्रदेश १–०२–०२० प ६७६ नम्बरको मोटरसाइकल र चालकको पहिचान गरेको थियो।

प्रहरीका अनुसार मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ टुथबारीका २० वर्षीय आनन्द घिमिरे हुन्। मोटरसाइकल निजकै घरबाट फेला पारिएको प्रहरीले जनाएकाे छ । उनी भने फरार रहेकाे प्रहरीले जनाएकाे  छ । उनकाे खाेजी कार्य जारि रहेकाे प्रहरीले जनाएकाे छ । 

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक बालिकाको शव बीएण्डसी अस्पतालको शवगृहमा राखिएको छ।