झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बिर्तामोड नगरपालिका–३ निवासी युवा नेता मनोज बुढाथोकीले झापा क्षेत्र नम्बर २ प्रदेश ‘क’को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
खेलकुद, सामाजिक सेवा तथा राजनीतिक गतिविधिमा सक्रिय बुढाथोकीले कांग्रेस संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
उम्मेदवारी घोषणा गर्दै उनले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनका रूपमा नभई निरन्तर जनतासँग जोडिएर उनीहरूका समस्या, आवश्यकता र मुद्दामा काम गर्ने संगठनका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

पार्टी संगठनको मुख्य आधार वडा तहका कार्यकर्ता र जनता भएकाले उनीहरूको भावना, आवश्यकता र सुझावलाई नेतृत्वसम्म पुर्याउने प्रभावकारी वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
बुढाथोकीले युवा पुस्तालाई नेतृत्वमा अर्थपूर्ण अवसर, कार्यकर्ताको सक्रियता तथा वडा तहसम्म संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। युवाको ऊर्जा, नयाँ सोच र प्रविधिको प्रयोगमार्फत पार्टी संगठनलाई थप गतिशील बनाउनुपर्ने उनको धारणा छ।
अनुभवी अग्रजहरूको ज्ञान र नयाँ पुस्ताको ऊर्जा तथा सिर्जनशीलतालाई समन्वय गर्दै कांग्रेसलाई अघि बढाउन आफूले भूमिका निर्वाह गर्न चाहेको बुढाथोकीले बताएका छन्। पुस्तान्तरणको विषयलाई नारामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
खेलकुद तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका बुढाथोकीले स्थानीयस्तरमा विभिन्न सामाजिक तथा सार्वजनिक गतिविधिबाट प्राप्त अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने बताएका छन्।
बुढाथोकीको उम्मेदवारी घोषणासँगै झापा क्षेत्र नम्बर २ प्रदेश ‘क’को कांग्रेस राजनीतिमा आगामी अधिवेशनलाई लिएर राजनीतिक गतिविधि र प्रतिस्पर्धा थप चर्चामा आएको छ।










































