भद्रपुर ः आन्तरिक राजस्व कार्यालय भद्रपुरले आफ्नो कार्यक्षेत्रका बढी आयकर दाखिला गर्ने चार जना करदातालाई सम्मान गरेको छ । सप्ताहव्यापी कार्यक्रम गरेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले आज कार्यालय परिसरमा एक कार्यक्रम गरी उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गर्दै कार्यक्रम समापन गरेको हो ।
सप्ताहव्यापी राष्ट्रिय कर दिवस, २०८३ को समापन समारोहको अवसरमा आज सोमबार कार्यालय परिसरमा आयोजित कार्यक्रममा झापाबाट एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामबाट अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङबाट आशिका आयल सप्लायर्स र पाँचथरबाट श्रेष्ठ ट्रेडिङ सप्लायर्सलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो । उनीहरूलाई फूलमाला तथा दोसल्ला ओढाएर तथा सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।

सोही अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा टीकाराम दाहाललाई समेत नगद सहित प्रशंसापत्रद्धारा सम्मान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्र्दै इमान्दारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको उल्लेख गरे । इमान्दारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु भएको बताउंदै उनले करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नपर्ने बताए ।
उनले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए । त्यस्तै आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपाल बहादुर थापाले कर राज्यले नागरिकबाट लिने अनिवार्य शुल्क मात्रै नभएर राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्वपूर्ण कडी भएको बताए ।

नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रति विश्वास र सुशासन कायम हुने उनको भनाइ थियो । उनले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुंग जिल्लाका करदाताहरुलाई उद्योग वाणिज्य संघको समन्वयमा कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिएको बताए ।
कर अधिकृत दीपक खनालले स्वागत गरेको कार्यक्रमको सन्चालन सीतादेबी खतिवडाले गरेकी थिइन । कार्यक्रममा उद्योग वाणिज्य संघका प्रतिनिधि , व्यवसायी, तथा सरोकारवाला निकायको बाक्लो उपस्थिति रहेको थियो ।










































