शिवसताक्षी : (कोशी प्रदेशकै सबभन्दा ठूलो सौर्य उर्जा परियोजना आगामी २३ गते उद्ध्घाटन हुने भएको छ। झापाको शिवसताक्षी नगरपालिकामा झापा इनर्जी लिमिटेडद्वारा निर्माण गरिएको यो परियोजना १० मेघावाट क्षमताको हो।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र(४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ ।

निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताउनुभयो । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो।

दुई वर्ष अघि निर्माण सुरु गरिएको परियोजना द्रुतगतिमा सम्पन्न भएको साँवाले बताउनुभयो । यस परियोजना बैकल्पिक परियोजना क्षेत्रमा उदाहरणीय हुने साँवाको दाबी छ। ‘बैकल्पिक उर्जाको क्षेत्रमा झापा इनर्जीले सुरु गरेको सोलार पावर प्राजेक्ट उदाहरणीय र नमुना हुन्छ’ साँवाले भन्नुभयो ‘अन्य ठाउँमा यस्तो परियोजना सञ्चालन गर्नेहरुका लागि यो एउटा नमुना हो।’

ठूलो क्षेत्रमा लस्करै राखिएका सोलार प्यानलका कारण यस ठाउँको सौन्दर्य पनि बढेको छ। आसपासका गाउँहरुबाट सोलार परियोजना हेर्न र तस्विर खिच्न मानिसहरुको भिडभाड लाग्ने गरेको छ । यो परियोजना निर्माणका लागि ७५ प्रतिशत रकम माछापुच्छ्र्रे बैंक र हिमालयन बैंकले लगानी गरेको छ । आयोजना स्थलबाट बुलुचोक स्थित सबस्टेशनसम्म ९ सय ६६ मिटर प्रशारण लाइन निर्माण गरिएको छ।

सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने छ। परियोजनाको नमुना परीक्षण पनि भइसकेको छ।

यस परियोजनाको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते उद्ध्घाटन गर्ने कार्यक्रम रहेको छ ।