मेचीनगर । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना र जोखिमसमेत बढ्दै गएपछि झापाको मेचीनगरमा विद्यार्थीलाई लक्षित गरी साइबर अपराधसम्बन्धी एकदिने सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ तथा स्नातक तहमा अध्ययनरत ५० भन्दा बढी छात्रछात्राको सहभागिता रहेको थियो ।
मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोग बढेसँगै साइबर अपराधको जोखिम पनि बढिरहेको बताउनुभयो । विद्यार्थीलाई साइबर अपराधको प्रकृति, त्यसले निम्त्याउन सक्ने जोखिम र कानुनी व्यवस्थाबारे समयमै जानकारी गराउनु आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत गोपनीयता, सुरक्षा र मर्यादालाई विशेष प्राथमिकता दिन आग्रह गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष श्रेष्ठले प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट उत्पन्न हुने चुनौती पनि बढ्दै गएको बताउनुभयो । प्रविधिलाई सुरक्षित, सचेत र जिम्मेवार ढङ्गले प्रयोग गर्ने संस्कार विकास गर्न यस्ता प्रशिक्षण प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले स्वागत मन्तव्य राख्दै साइबर अपराधबाट विशेषगरी युवा पुस्ता प्रभावित हुन सक्ने भएकाले यससम्बन्धी सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारीले पनि कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रशिक्षणका क्रममा विद्यार्थीलाई साइबर अपराधका विभिन्न स्वरूप, डिजिटल माध्यमबाट हुन सक्ने दुर्व्यवहार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको गोपनीयता कायम राख्ने उपाय तथा साइबर अपराधबाट जोगिने कानुनी र व्यावहारिक पक्षबारे जानकारी गराइएको थियो ।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक नकुलराज गौतमले प्रमुख प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो भने महिला सेल काँकरभिटाकी प्रमुख प्रहरी नायब निरीक्षक मिलन राईले प्रशिक्षकका रूपमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गर्नुभएको थियो ।
लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ उप्रेतीका अनुसार विद्यार्थीलाई साइबर अपराधको जोखिम पहिचान गर्न, सम्भावित घटनाबाट सुरक्षित रहन तथा प्रविधि र सामाजिक सञ्जालको मर्यादित एवं जिम्मेवार प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो ।










































