बिर्तामोड । नेपाल सरकारबाट अनुदानमा उपलब्ध गराइएको रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित संजीवनी कृषि भण्डारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा मङ्सिर १० गते गरिएको आकस्मिक अनुगमनका क्रममा कृषि भण्डारले अनुदानित रासायनिक मलको बिक्री वितरणसम्बन्धी निर्धारित सर्त र प्रक्रिया उल्लङ्घन गरेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार संजीवनी कृषि भण्डारले मङ्सिर ८ गते साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, बिर्तामोडबाट युरिया १७० बोरा र डीएपी ६० बोरा गरी २३० बोरा मल खरिद गरेको थियो । त्यसैगरी, मङ्सिर ९ गते कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट थप १७० बोरा डीएपी मल खरिद गरेको थियो ।
यसरी दुई सरकारी निकायबाट कुल ४०० बोरा मल खरिद गरेको अभिलेख देखिए पनि अनुगमनका क्रममा गोदाममा २४१ बोरा मात्रै मौज्दात रहेको भेटिएको प्रशासनले जनाएको छ । गोदाममा रहेको मलमध्ये १२० बोरा युरिया र १२१ बोरा डीएपी थियो ।
खरिद गरिएको कुल मलमध्ये बाँकी १५९ बोरा कहाँ गयो भन्ने प्रश्नमा कृषि भण्डारले बिक्री तथा मौज्दातको स्पष्ट विवरण अनुगमन टोलीसमक्ष पेस गर्न सकेन । अनुदानित मलको बिक्री वितरण र अभिलेख व्यवस्थापनमा देखिएको उक्त कमजोरीलाई निर्धारित सर्तविपरीतको कार्य ठहर गर्दै प्रशासनले उपभोक्ता हित संरक्षण ऐनबमोजिम तत्कालै २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
प्रशासनले कृषि भण्डारलाई खरिद, बिक्री र मौज्दातसम्बन्धी आवश्यक कागजात तथा विवरणसहित कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।
अनुदानित रासायनिक मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सरकारले ठूलो रकम खर्च गर्दै आएको छ । तर, सरकारी अनुदानमा खरिद गरिएको मलको बिक्री तथा मौज्दात विवरण नै स्पष्ट नहुनुले अनुदानित मलको वितरण प्रणाली र त्यसको निगरानीमाथि प्रश्न उठाएको छ ।
अनुगमन टोलीमा कृषि ज्ञान केन्द्र झापाका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैबीच, बुद्धशान्ति गाउँपालिका–३ स्थित ७ नम्बर चोकमा रहेको न्यू कञ्चन कृषि सहकारी संस्थामा पनि अनुगमन गरिएको थियो । उक्त सहकारी संस्थाको रासायनिक मल खरिद, बिक्री तथा मौज्दातसम्बन्धी विवरण दुरुस्त पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।










































