बिर्तामोड । बिर्तामोड नगरपालिका–७ खालबाडीका बिमली परिवारले नापी र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा आफुले भोगचलन गरिरहेको जमिन अर्के ब्यक्तिको नाममा पारिएको आरोप लगाएको छ ।

बिमली परिवारको भोगचलनमा रहेको साढे ३ कठ्ठा जमिन मालपोत कार्यालयमा कार्यारत सीताराम तिम्सिना र नापी कार्यालय झापाका अमिन नारायण सापकोटाको मिलेमतोमा प्रेम तिम्सिनाको नाममा कायम गरेको आरोप बिमली परिवारको छ ।

सर्पट नापीका कारण समस्या उत्पन्न भएको बिमली परिवारको भनाई छ । सर्पट नापीले बिमली परिवारको भोगचलनमा रहेको साढे ३ कठ्ठा जमिन तिम्सिना परिवारका नाममा कायम गरेपछि बिमली परिवारले त्यसको बिरोध गरेको छ । सो जमिन प्रेम तिम्सिनाको नाममा कायम भए स्थानीय लक्ष्मी आधारभुत बिद्यालयसहित १० परिवार प्रभावित हुने उनीहरुले बताएका छन् ।

प्रभावित भिष्म बिमलीले आफ्नो परिवारको नाममा नक्सा कायम भएको जमिन तिम्सिना परिवारको नाममा पारिएको बताए । संधियारलाई सही नगराई नापीका कर्मचारीले सरोकार नराख्ने मान्छेलाई उपस्थित गराएर फिल्डमै नक्सा कायम गरिदिएको आरोप लगाए । प्रेम, जयराम र सिताराम तिम्सिनाका नाममा सो स्थानमा ४ बिगाहा जमिन रहेको जानकारी दिंदै सर्पट नापीले ४ बिगाहा ६ कठ्ठा कायम गरेको उनले बताए ।

स्थानीय भिष्म शिवाकोटीले पनि शक्तिको भरमा तिम्सिना परिवारले ज्यादती गरेको आरोप लगाएका छन् । उनले आफ्नो आमा जगमाया शिवाकोटीको नाममा दर्ता कायम रहेको १ बिगाहा ११ कठ्ठामा पनि ३ कठ्ठा जमिन बढी रहेको बताएका छन् । २०१६ सालदेखि उनका बाबुले भोगचलन गरेको सो जमिनभन्दा ५ कित्ता टाढा प्रेम तिम्सिनाको जमिन रहेको भन्दै अरु जमिन सार्दै बढी भएको जमिन पनि आफ्नै नाममा कायम गरेको आरोप शिवाकोटीको छ ।

तिम्सिनाको जमिन पुग्दा पुग्दै पनि अमिन सापकोटाको उपस्थितीमा ३० फुट जमिन दक्षिण सारेको उनले बताए । हाल प्रयोगमा रहेको सडकलाई प्रभावित पार्नेगरी अमिन सापकोटा र तिम्सिनाले चलखेल गरेको आरोप पनि उनले लगाए । रमेश बिमलीको नाममा रहेको सिट न १७९÷०१२२ को कित्ता नम्बर ११३४ भइ हाल १०८ कित्ता नम्बर कायम रहेको १५ कठ्ठा जमिनमध्ये अहिले ९ कठ्ठा मात्र छ । बढी भएको जमिन रमेशकै नाममा दर्ता कायम र पुरानो नक्सा अनुसारको भएको बिमली परिवारको दावी छ ।

नापी कार्यालय झापाका प्रमुख दुर्गादास महर्जनले आफै फिल्डमा आएर समस्याको समाधान खोज्ने बताए । उनले सर्पट नापी आँदा जमिन बढी निस्किएपछि भोगचलन गरिरहेकाहरुमा ‘लोभ’ उत्पन्न भएका कारण समस्या आएको बताए । उनले यो बिषयमा अध्ययन गर्न नपाएको भन्दै फिल्डमै आएर समस्या समाधान गर्न तयार रहेको बताए ।

अमिन नारायण सापकोटाले प्रेम तिम्सिनाले जोतभोग गरिरहेको जमिन उनकै नाममा दर्ता कायम गरेको बताए । उनले मालपोत कार्यालयका सुब्बा सीताराम तिम्सिनासँगको मिलेमतोमा बढी भएको जमिन उनीहरुको नाममा कायम गर्न भूमिका खेलेको आरोप मिथ्या भएको बताए । बिमली परिवारको नक्सा र स्रेस्तामा भएको जमिन पुग्ने दावी गर्दै सापकोटाले आफुमाथि बिमली परिवारले लगाएको आरोप निरनाधार भएको बताए ।

सर्पट नापीका कारण पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा समस्या उत्पन्न हुँदै आएको छ । २०२१ सालको नापी, हाल कायम रहेको भोगचलन र सर्पट नापीबीच तालमेल नहुँदा समस्या उत्पन्न भएको हो ।