बिर्तामोड । सहकारी क्षेत्रमा चुनौती र अविश्वासका विषय उठिरहेका बेला झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले संस्थागत सुदृढीकरण र दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिँदै आफ्नै आधुनिक कार्यालय भवन निर्माण सुरु गरेको छ।

20261125_084003

बिर्तामोड–४ स्थित हर्कलाल मार्गमा करिब ६ करोड रुपैयाँको लागतमा चारतले भवन निर्माण थालिएको हो।

आज बुधबार एक  कार्यक्रमकाबिच संस्थाका अध्यक्ष सुवास भट्टराई र कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।संस्थाका कार्यकारी प्रमुख बस्नेतका अनुसार भवन निर्माणका लागि संस्था स्थापनाकालदेखि नै छुट्टै कोष स्थापना गरी रकम संकलन गरिँदै आएको छ। 

हाल उक्त कोषमा करिब साढे तीन करोड रुपैयाँ जम्मा भइसकेको छ। करिब सात वर्षअघि दुई कठ्ठा १६ धुर जग्गा ७३ लाख रुपैयाँमा खरिद गरिएको थियो।

20261125_084336

संस्थालाई दीर्घकालीन रूपमा व्यवस्थित र स्थायित्व  गर्न, सदस्यलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै संस्थागत संरचना बलियो बनाउने उद्देश्यले भवन निर्माण अघि बढाएको   कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए ।  

अध्यक्ष सुवास भट्टराईका अनुसार सहकारीप्रति विभिन्न माध्यमबाट नकारात्मक सन्देश प्रवाह भइरहेको अवस्थामा सदस्यको विश्वास कायम राख्दै संस्थालाई थप व्यवस्थित बनाउनु आवश्यक ठानेर भवन निर्माण सुरू  गरिएको हो ।  आफ्नै भवन निर्माण संस्थाको दीर्घकालीन योजना र संस्थागत विकासको महत्वपूर्ण कदम भएको उनले बताए।हाल झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा सेवा विस्तार गरेको सिम्रिक साकोसले ४४ वटा मुख्य सेवा केन्द्र र विपन्न तथा न्यून आय भएका परिवारलाई लक्षित आठ वटा लघुवित्त सेवा केन्द्र गरी ५२ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

 संस्थामा करिब ७२ हजार सदस्य आबद्ध छन्। सिम्रिकको  गत कात्तिक ३० गतेसम्मको वित्तीय विवरणअनुसार संस्थाको कुल वासलात तीन अर्ब ७२ करोड पाँच लाख ४० हजार ६४४ रुपैयाँ पुगेको छ। 

20261125_083929

संस्थाको सेयर पुँजी ३८ करोड ५३ लाख १३ हजार ८०० रुपैयाँ, जगेडा कोष नौ करोड ६२ लाख ८० हजार ९५२ रुपैयाँ र अन्य कोषमा २३ करोड ७० लाख ७८ हजार ६४८ रुपैयाँ रहेको छ।

त्यस्तै, संस्थामा दुई अर्ब ५६ करोड ९४ लाख ५६ हजार १५९ रुपैयाँ निक्षेप संकलन भएको छ भने लगानी रकम तीन अर्ब ३० करोड ५३ लाख दुई हजार ७६८ रुपैयाँ पुगेको छ। संस्थाको कुल संस्थागत पुँजी १० करोड ८६ लाख ९१ हजार ३०६ रुपैयाँ रहेको छ।

संस्थामा १५ हजार १६७ जना ऋणी रहेका छन्। भवन सिलन्यास कार्यक्रममा अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख बस्नेत, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, बिभागिय प्रमुख मिनबहादुर अधिकारी, बिजय बस्नेत, शिक्षा उप समिति सदस्य बद्री प्याकुरेल लगायत समिति, उपसमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।