झापाको बिर्तामोडमा अनलाइनमार्फत ठगी गरेको आशंकामा प्रहरीले २५ जना महिला र ५ जना पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडले विशेष सूचनाका आधारमा आज मंगलबार साँझ बिर्तामोडको शनिश्चरे रोडस्थित एक आईटी कार्यालयमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ख्यामराज घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरूको साथबाट २८ वटा व्यक्तिगत मोबाइल, कार्यालयमा प्रयोग हुने ८८ वटा मोबाइल फोन र २५ वटा ल्यापटप बरामद गरिएको छ। नियन्त्रणमा लिइएका २५ जना महिलालाई हाजिर जमानीमा छाडिएको छ भने पाँच जना पुरुषलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमै राखेर अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतका अनुसार शनिश्चरे रोडमा सञ्चालित ‘इन्फरमेटिक्स प्रा.लि.बिर्तामोड ५ ’ नामक संस्थाबाट विदेशमा रहेका व्यक्तिहरूलाई लक्षित गरी नक्कली सामाजिक सञ्जाल आईडी बनाएर ठगी गर्ने गरेको आशंका गरिएको छ। त्यस्तै, विभिन्न एप निर्माण गरिदिने तथा असाइनमेन्ट तयार पारिदिने भन्दै अनलाइनमार्फत रकम असुल्ने गरेको प्रारम्भिक सूचना रहेको बताइएको छ।
प्रहरीले नियन्त्रणमा लिएका महिलाहरू १९ देखि २५ वर्ष उमेर समूहका रहेको जनाएको छ। उनीहरूलाई तलब तथा विभिन्न प्रलोभन देखाएर संस्थामा काममा लगाइएको हुन सक्ने स्रोतको भनाइ छ।
उक्त संस्था पूर्वप्रहरी नायब उपरीक्षक डीएसपी राजन भेटवालको रहेको र उनका छोरा रिवाज भेटवालले सञ्चालन गर्दै आएको बुझिएको छ। घटनाबारे थप जानकारी लिन पूर्वडीएसपी राजन भेटवालसँग सम्पर्क गर्दा उनले आफू अहिले व्यस्त रहेको भन्दै केही समयपछि कुराकानी गर्ने बताएका थिए। तर, त्यसपछि पुनः सम्पर्क गर्ने प्रयास गर्दा उनले फोन रिसिभ गरेनन्।










































