झापाको हल्दिबारी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सिसि क्यामेराको ‘एप्स’ सार्जजनिक गरेको छ । उक्त एप्सको आज सोमबार पालिका परिसरमा आयोजित एक समारोहका बिच झापा क्षेत्र नं. ३ का सांसद तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन् । 

निवर्तमान उप–प्रधान, उर्जा जलस्रोत तथा सिचाईमन्त्री  लिङ्देनले सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य भएको बताए । उनले प्राविधिक, जीवनोपयोगी र स्वरोगारमुखी शिक्षा वर्तमानको आवश्यकता रहेको औल्याउंदै शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।  

गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक  विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए । कार्यक्रमको औचित्माथि प्रकाश पार्दै उनले  एप्सको माध्यमबाट प्रविधिको प्रयोग गरेर अनलाइनबाटै विद्यालय अनुगमन हुने बताए । 

“एप्सबाट अभिभावकले आफ्ना नानीबाबीहरु विद्यालय गए÷नगएका सोझै देख्न सक्ने, शिक्षक र विद्यार्थीको गतिविधि नियाल्न सकिने,  कक्षामा शिक्षकले के गर्दैछन्, विद्यार्थी उपस्थित भए नभएको हेर्न सकिने, 

बिद्यालयको सुरक्षामा बृद्धि हुने, बिद्यालय अनुगमनमा सहज हुने, बिद्यालय प्रशासनलाई बिद्यालय प्रशासनको सुदृढिकरणमा सहयोग पुग्ने लगायतका फाइदा हुने गाउंपालिकाका अध्यक्ष लिङ्देनको भनाई छ ।  

पालिकाकासूचना प्रबिधि अधिकृत सुशिल कडरियाका अनुसार प्लेस्टोरबाट मोबाइलमा एप्स डाउनलोड गरेर हेर्न सकिनेछ । सीसी क्यामेरा जडानका लागि रू २४ लाख ८८ हजार खर्च भएको छ भने एप्स गाउँपालिकाका आइटीका कर्मचारीहरुले आफैँ निर्माण गरेको उनले जानकारी दिए । 

एप्स डाउनलोड गर्न र प्रयोग गर्न गाउँपालिकाबाट अनुमति लिनुपर्ने उनले बताए ।  विद्यालयमा भएका कमीकमजोरीलाई नियालेर शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक काम गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताए । उनले गाउँपालिका हाताभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा सीसी क्यामेरा जडान गरिएको जानकारी दिए ।  

कार्यक्रममा  प्रदेशसभा सदस्य छविलाल चुँडाल, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिक, हिल्दबारी–१ का वडाध्यक्ष लगातयले शुभकामना मनतब्य राखेको कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए । 

सोही कार्यक्रमका बिच भर्खरै सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा पालिकाबाट जिल्लामै पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै  प्रतियोगिताका निर्देशन तथा ब्यावस्थापन समिति तथा प्रशिक्षकलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।