झापा। झापाको भद्रपुरमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ का वडाध्यक्ष हंशधर राजवंशीसमेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–६ स्थित मन्त्रीचोकमा रहेको राजवंशी होटलमा छापा मारेर उनीहरूलाई गएराति नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने अन्यमा होटल सञ्चालक महादेव राजवंशी, भद्रपुर–४ स्थित पशुपति आधारभूत विद्यालयका पूर्वशिक्षक भुवन लवट, भद्रपुर–६ का निर्मल राजवंशी र गम्बु माझी रहेका छन्। जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच, वडाध्यक्ष पक्राउ परेको घटनालाई सार्वजनिक हुन नदिन तथा उनलाई हिरासतमुक्त गराउन स्थानीय राजनीतिक दलका केही अगुवाहरूले दबाब सिर्जना गर्न खोजेको आरोप लागेको छ। घटनालाई सामसुम पार्ने प्रयास भइरहेको स्थानीय पत्रकार पुकार राजवंशीले बताएका छन्।

प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।