झापा । 

स्वच्छ ऊर्जा प्रवर्द्धन तथा विद्युतीय चुलोको प्रयोग विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कदरपत्र प्रदान गरेको छ।

कोशी प्रदेशका सहकारी सदस्यहरूलाई १२ हजार ५ थान विद्युतीय चुलो वितरण गरी स्वच्छ ऊर्जा प्रवर्द्धनमा योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै केन्द्रले सहारा नेपाललाई कदरपत्र प्रदान गरेको हो।

भायबिलिटी ग्याप फन्डिङमा आधारित दिगो ऊर्जा च्यालेन्ज फन्डको सहयोगमा मागमा आधारित ढाँचाअनुसार उक्त विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालन गरिएको थियो। 

यस कार्यक्रमले सहकारीका सदस्यहरूलाई स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न तथा परम्परागत इन्धनको प्रयोग घटाउन महत्वपूर्ण सहयोग पुर्‍याएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सवको अवसरमा २०८३ कार्तिक १८ गते उक्त कदरपत्र प्रदान गरिएको हो। 

कदरपत्रमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको हस्ताक्षर रहेको छ।

स्वच्छ ऊर्जा प्रवर्द्धन, वातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा सहारा नेपालले पुर्‍याएको योगदानको सम्मानस्वरूप प्राप्त यो कदरपत्रलाई संस्थाको उपलब्धिका रूपमा हेरिएको छ।