बिर्तामोड, २८ असोज। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वलगायत विभिन्न कार्यक्रममार्फत १ करोड ४२ लाख ६७ हजार १८० रुपैयाँ खर्च गरेको छ। संस्थाले सदस्यको हितसँगै सामाजिक सेवाका गतिविधिलाई समेतप्राथमिकता दिँदै आएको जनाएको छ।

संस्थाका अध्यक्ष सुवास भट्टराईका अनुसार मृत्यु वा पूर्ण अशक्तता भएका ४१ जना सदस्यको ५० लाख ६ हजार २११ रुपैयाँ ऋण मिनाहा गरिएको छ।

वित्तीय कारोबारमा मात्र सीमित नभई सदस्यको दुःखमा साथ दिने र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सिम्रिकको कुल वासलात ६।६६ प्रतिशतले वृद्धि भई ३ अर्ब ५४ करोड १० लाख १४ हजार ३२६ रुपैयाँ पुगेको जानकारी दिनुभयो।

उहाँका अनुसार संस्थाको शेयर पुँजी ३७ करोड ३९ लाख ४ हजार ५०० रुपैयाँ र बचत संकलन २ अर्ब ५६ करोड ९० लाख ७० हजार ८०४ रुपैयाँ रहेको छ।

त्यस्तै, गैरवित्तीय सम्पत्ति ६ करोड ४२ लाख २४ हजार ७५२ रुपैयाँ र स्थिर सम्पत्ति ६ करोड ५१ लाख ६८ हजार ५४० रुपैयाँ रहेको छ। संस्थाले बाह्य ऋणसमेत ६० प्रतिशतभन्दा बढी घटाएको उहाँले बताउनुभयो।

झापा, इलाम, मोरङ र पाँचथरमा कार्यक्षेत्र रहेको सिम्रिक साकोसमा हाल ७१ हजार २४६ जना शेयर सदस्य आबद्ध छन्। संस्थाले आर्थिक वर्ष २०८३र०८४ का लागि १२ अर्ब ७८ करोड ५५ लाख ४० हजार ७११ रुपैयाँ बराबरको नीति तथा कार्यक्रम तय गरेको जनाएको छ।