भद्रपुर । 

झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाअन्तर्गत पाँचौँ इकाइगत साधारणसभा सोमबार भद्रपुर–१० स्थित श्री दुर्गा पञ्चायन मन्दिरको सभाहलमा सम्पन्न भएको छ।

20261005_112754

बनियानी, चन्द्रगढी र भद्रपुर सेवा केन्द्रअन्तर्गतका सदस्यहरूको उल्लेख्य सहभागितामा सम्पन्न सभाको अध्यक्षता कोषाध्यक्ष मेहेरमान बिष्टले गरेका थिए।

कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य बद्री प्याकुरेलले गरेका थिए भने विभागीय प्रमुख मिनबहादुर अधिकारीले स्वागत गरेका थिए।

20261005_123458

कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका गतिविधि, उपलब्धि र भावी योजनाबारे जानकारी गराए।

उनले सिम्रिकले झापा, इलाम, मोरङ र पाँचथरका ४४ वटा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा दिइरहेको बताए।

20261005_122953

२०६७ सालमा ५५ जना शेयर सदस्य र २० लाख ५० हजार रुपैयाँ शेयर पुँजीबाट स्थापना भएको संस्थामा हाल ७१ हजार २४६ जना शेयर सदस्य पुगेको र शेयर पुँजी २७ करोड ३९ लाख रुपैयाँ पुगेको उनले जानकारी दिए।

संस्थाले सदस्यको आर्थिक हितसँगै विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आएको तथा विपद् र अप्ठ्यारो परिस्थितिमा सदस्यलाई सहयोग गर्दै आएको बस्नेतको भनाइ थियो।

सभाका अवसरमा उत्कृष्ट तीन बचतकर्ता दिव्या भारती महतो (भद्रपुर), विष्णुकुमारी राई (चन्द्रगढी) र कान्दु गणेश (बनियानी) तथा उत्कृष्ट तीन ऋणी सदस्य बसन्त भट्टराई (बनियानी), फणिन्द्रबहादुर कार्की (चन्द्रगढी) र टेकनारायण राजवंशी (भद्रपुर)लाई मायाको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

यस्तै, चन्द्रगढी सेवा केन्द्रका सदस्य इनाे राजवंशीको निधनपछि परिवारमाथि आर्थिक भार नपरोस् भन्ने उद्देश्यले उनको नाममा रहेको ७४ हजार ५९१ रुपैयाँ कर्जा मिनाहा गरिएको छ।

संस्थाले जेष्ठ नागरिक सदस्य अनिरुद्र सिटौलासहित चन्द्रगढी सेवा केन्द्रका सदस्य दुर्गाकुमारी पोखरेलका श्रीमान् रेवती पोखरेलको उपचार तथा शल्यक्रिया खर्चबापत १२ हजार ३७५ रुपैयाँ सहयोग गरेको छ।

पोखरेल परिवारलाई गरिएको सहयोगसँगै सदस्य गोमा खड्काका श्रीमान्को निधनपश्चात् विपद् कोषबाट ७ हजार ५०० रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध गराइएको चन्द्रगढी सेवा केन्द्र प्रमुख तारानाथ पौडेलले जानकारी दिए।