झापा-भारतको सिक्किममा बर्सेनि आयोजना हुँदै आएको गायन प्रतियोगिता ‘सिक्किम आइडल’ यसपटक अन्तर्राष्ट्रियस्तरको बनेको छ ।
‘सिक्किम आइडल इन्टरनेसनल सिजन-३’ मार्फत नेपालसहित विश्वभरका नेपालीभाषी गायन प्रतिभालाई प्रतिस्पर्धाको एउटै मञ्चमा जोड्न लागिएको हो ।
प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणबारे जानकारी दिन शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपालका विभिन्न सहरमा प्रत्यक्ष अडिसन गर्ने जानकारी दिएको छ । बिर्तामोडमा नोभेम्बर ३० मा अडिसन हुनेछ ।
प्रतियोगिताको प्रस्तुतकर्ता सिक्किमको हाम्रो वार्ता टेलिभिजन रहेको छ ।
पत्रकार सम्मेलनमा संरक्षक तथा सिक्किम कला, संस्कृति तथा सम्पदा बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, प्रमुख कार्यक्रम सञ्चालन अधिकृत डा. मनोज राई र कार्यक्रम इञ्चार्ज दिवश राईले प्रतियोगिताको उद्देश्य, तयारी र सहभागिताबारे जानकारी दिएका छन् ।
संरक्षक राईले सिक्किममा सुरु भएको गायन प्रतियोगितालाई अन्तर्राष्ट्रिय विस्तार गरी विश्वभर छरिएका नेपालीभाषी प्रतिभालाई अवसर दिने उद्देश्य राखिएको बताए ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनका राजनीतिक सचिव ज्याकब खालिङको पहल रहेको आयोजकले जनाएको छ ।
प्रमुख कार्यक्रम सञ्चालन अधिकृत डा. राईका अनुसार १५ वर्ष उमेर पूरा भएका इच्छुकले प्रतियोगितामा भाग लिन पाउनेछन् । उमेरको माथिल्लो सीमा तोकिएको छैन ।
बिर्तामोड, काठमाडौं र देहरादुनमा नोभेम्बर ३०, गुवाहाटी, सिलिगुडी, दार्जिलिङ र कालिम्पोङमा डिसेम्बर ३ तथा सिक्किमका विभिन्न स्थानमा डिसेम्बर ६ देखि ८ सम्म अडिसन हुनेछ ।
प्रतियोगितामा सहभागी हुन अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ । नोभेम्बर २५ सम्म दुई मिनेटसम्मको गायन भिडियो ह्वाट्सएपमार्फत पठाउन सकिने आयोजकले जनाएको छ ।
भिडियो पठाउन +९१ ६२९६५२९८१३ र +९१ ९४७५३७१००२ नम्बर उपलब्ध गराइएको छ । भिडियोमा ब्याकिङ ट्र्याक प्रयोग गर्न पाइने छैन । एउटा वाद्ययन्त्रको साथमा भने गीत प्रस्तुत गर्न सकिनेछ ।
प्रतियोगिताको विजेताले १० लाख भारतीय रुपैयाँ, दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तीन लाख भारतीय रुपैयाँ पुरस्कार पाउनेछन् । पहिलो संस्करणका विजेता जेत्सेन डोना लामा र दोस्रो संस्करणका विजेता ओजस्वी गुरुङ हुन् ।
पत्रकार सम्मेलनको सहजीकरण सञ्चारकर्मी सुनिता तामाङले गरेकी थिइन् ।










































