झापा । खेलकुदका माध्यमबाट लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा खुला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।

सन्तलाल वृजमोहन गट्टानी स्मृति प्रतिष्ठानको आयोजनामा आगामी मंसिर ९ गते महिला तथा पुरुष खुला हाफ म्याराथन हुन लागेको हो। २१ किलोमिटर दूरीको प्रतियोगितामा देशभरका महिला तथा पुरुष धावकले सहभागिता जनाउन सक्ने आयोजक समितिका संयोजक मिलन बस्नेतले जानकारी दिए।

अर्जुनधारा जलेश्वर धाममा आयोजना हुन लागेको ४४औँ अनुष्ठानको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नुका साथै युवालाई खेलकुदप्रति आकर्षित गर्ने र लागूऔषध दुर्व्यसन न्यूनीकरणमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य प्रतियोगिताले लिएको बस्नेतले बताए।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राशि निर्धारण गरिएको छ। दुवै विधामा प्रथम हुने धावकले १ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुनेले ७५ हजार १ रुपैयाँ र तेस्रो हुनेले ५१ हजार १ रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी चौथोदेखि दसौँ स्थानसम्म हासिल गर्ने धावकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन ३०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। सहभागी सबै धावकलाई प्रमाणपत्र र टी–सर्ट उपलब्ध गराइनेछ।

अर्जुनधाराबाट सुरु हुने दौड खरबन्दी, बुद्धचोक, कालिस्थान, धाइजनचोक, बुधबारे, जयपुर, झम्केचोक र नारायणचोक हुँदै पिपलचोकमा पुगेर समापन हुनेछ।

प्रतियोगिताका विजेतालाई अर्जुनधारा जलेश्वर धाम परिसरमा विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

धार्मिक आस्था, सामाजिक सचेतना र खेलकुदलाई एउटै अभियानमा जोड्ने प्रयासका रूपमा प्रतियोगितालाई हेरिएको छ।

युवालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु, लागूऔषध दुर्व्यसनविरुद्ध जनमत निर्माण गर्नु तथा अर्जुनधारा जलेश्वर धामको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई राष्ट्रियस्तरमा चिनाउनु प्रतियोगिताका प्रमुख उद्देश्य रहेका छन्।