झापा, १५ कात्तिक । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत आज बिर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न झापा जिल्ला अधिवेशनबाट कृष्ण हुमागाईं जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । 

यसअघि जिल्ला सचिवको जिम्मेवारीमा रहेका  हुमागाईंले कोशी प्रदेश सम्मेलन, राष्ट्रिय सम्मेलन, झापा जिल्ला अधिवेशन तयारी समिति तथा जिल्ला अधिवेशन आयोजक समितिको संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । 

१४औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट जिल्ला सचिवमा निर्वाचित भएका  हुमागाईं र सहसचिव कालेन्द्र राजवंशीबाहेक जिल्ला कार्यसमितिका अन्य पदाधिकारी विश्वप्रकाश शर्मा समूहमा आबद्ध भएका थिए। उक्त महाधिवेशनमा झापा जिल्ला कार्यसमितिका सबै पदमा सिटौला समूहका उम्मेदवार विजयी भएका थिए।

हुमागाईंले यसअघि पार्टीको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा जिल्ला प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।  कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्षका रूपमा पनि उनले  काम गरिसकेका छन् । 

राजनीतिसँगै पत्रकारितामा समेत लामो अनुभव हासिल गरेका  हुमागाईं नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति भइसकेका छन् ।  

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा सक्रिय रहँदा हुमागाईं पटक–पटक हिरासतमा समेत परेका थिए ।  २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि उनले  तत्कालीन संगठन विभाग प्रमुख कृष्णप्रसाद सिटौलासँगै करिब तीन महिना भारतमा निर्वासित जीवन बिताउनुपरेको थियो।

जुझारु, निडर र संघर्षशील नेताका रूपमा परिचित हुमागाईं जनआन्दोलनका क्रममा चर्चामा रहनुभएको थियो। स्पष्टवक्ता तथा वैचारिक बहसमा खरो रूपमा प्रस्तुत हुन सक्ने नेताका रूपमा उनको  पहिचान छ।