बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित किङ्सबरी होटल अब अन्तर्राष्ट्रिय होटल ब्रान्ड र्‍याडिसनको व्यवस्थापनमा सञ्चालन हुने भएको छ।

होटललाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवासहित विस्तार गर्ने उद्देश्यले र्‍याडिसन होटल समूह र किङ्सबरी होटलबीच सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो। यो परियोजना कार्यान्वयनमा आएपछि ६५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

र्‍याडिसन होटल समूहका ग्लोबल प्रमुख कार्यकारी अधिकृत फेडेरिको गोन्जालेज, दक्षिण एसियाका प्रबन्ध निर्देशक तथा प्रमुख सञ्चालन अधिकृत निखिल शर्मा र किङ्सबरी होटलका अध्यक्ष रवि शर्मा धितालको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो।

हाल १५५ कोठासहित सञ्चालनमा रहेको होटललाई दुई चरणमा र्‍याडिसन ब्रान्डमा रूपान्तरण गर्ने योजना छ। पहिलो चरण सन् २०२७ को अन्त्यसम्म र दोस्रो चरण सन् २०२८ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

होटलका अध्यक्ष धितालले सन् २०२४ मा होटल अधिग्रहण गरेपछि यसको स्तरोन्नति र विस्तारका लागि थप एक अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो।

होटललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्दै आधुनिक पूर्वाधार, स्तरीय आवास तथा आतिथ्य सेवा विस्तार गरिने जनाइएको छ।

होटल परिसरमा क्यासिनोसमेत सञ्चालनमा रहेको छ। र्‍याडिसनसँगको सहकार्यले बिर्तामोडसहित पूर्वी नेपालको पर्यटन, व्यापार र व्यावसायिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने र आसपासका व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। यस परियोजनालाई नेपालमा र्‍याडिसनको व्यवस्थापनअन्तर्गत सञ्चालन हुने पहिलो होटलका रूपमा प्रस्तुत गरिएको छ।