बिर्तामोड(बिर्तामोड नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस जेई विरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु भएको छ । नगर अस्पतालमा नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पहिलो खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो ।
अभियानको शुभारम्भ कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीले समेत खोप लगाएका छन् । नगरपालिकाले असोज १५ गतेसम्म सञ्चालन गर्ने अभियानमा ३० वर्षमाथिका ६० हजारभन्दा बढी नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवम् खोप अभियानका फोकल पर्सन गणेश रिजालका अनुसार नगरका १० वटै वडामा खोप सेवा सञ्चालन गरिएको छ । नागरिकलाई सहजरूपमा खोप उपलब्ध गराउन नगरपालिकाले ५६ वटा खोप केन्द्र निर्धारण गरेको छ ।
अभियानका लागि ३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्यकर्मी, शिक्षक तथा स्वयंसेवकलाई आवश्यक अभिमुखीकरण गरिनुका साथै नगरस्तरीय खोप समन्वय समिति र वडास्तरीय संयन्त्रलाई समेत परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।
अभियानको शुभारम्भ गर्दै नगर प्रमुख प्रसाईले जेईबाट सुरक्षित रहन तोकिएको अवधिभित्र आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन नगरवासीलाई आग्रह गरिन् ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार गर्भवती महिला तथा खोपमा प्रयोग हुने तत्वप्रति गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले खोप लगाउनुअघि स्वास्थ्यकर्मीसँग परामर्श लिनु पर्छ ।
झापामा असोज ५ गतेदेखि जेईविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । जिल्लाका १३१ वटै वडामा ९०० खोप केन्द्र स्थापना गरी ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै खोप सेवा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।










































