झापा । झापाको बिर्तामोड–५ स्थित न्युटन्स एजुकेशन एकेडेमीका विद्यार्थीहरूले शुभदीपावलीको अवसर पारेर आकर्षक रङ्गोली तथा तिहारको मौलिकता झल्काउने विभिन्न चित्र निर्माण गरेका छन्।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नै सिर्जनात्मकतामार्फत कलात्मक रङ्गोली र तिहार विशेष चित्र तयार गरेका हुन्। विद्यार्थीहरूले निर्माण गरेका रङ्गोली तथा चित्रहरू विद्यालयमा पर्दशन गरेर पाटी र भित्ताहरूमा सजाएर राखिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।
चित्र तथा रङ्गोलीहरूमा विशेष गरी लक्ष्मी पाइला, दियो, कलश, स्वस्तिक चिन्ह, र काग, कुकुर, गाई एवं भाइटीका जस्ता तिहारका विशेष पर्वहरूलाई कलात्मक रूपमा दर्शाइएको छ।
कलाको माध्यमबाट विद्यार्थीहरूले आफ्ना शिक्षक, र साथीहरूलाई दीपावली तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए । विद्यार्थीहरूको सिर्जनात्मकता, मेहनत र कलाप्रतिको लगावलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता गतिविधि महत्वपूर्ण मानिन्छन्। यस्ता रचनात्मक अभ्यासले विद्यार्थीभित्र लुकेका प्रतिभा प्रस्फुटन गर्नुका साथै चाडपर्वको सांस्कृतिक महत्व, मौलिकता र सामूहिक भावनाबारे बुझ्नसमेत सहयोग पुर्याउने विश्वास विद्यालयका प्रिन्सिपल हुंमागांइले लिएका छन् ।
साथै यस प्रकारका अतिरिक्त क्रियाकलापले नयाँ पुस्तामा आफ्नो धर्म, संस्कृति र परम्पराप्रति गौरव र सचेतना जगाउन ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ।










































