बिर्तामोड । गत कात्तिक ८ गते दसैँको पूर्णिमाकाे राति   झापाको बिर्तामोडस्थित पश्चिम बसस्टेन्डमा रहेको टाइमलेस होटलमा तास खेलिरहेको सूचनाका आधारमा  प्रहरीले छापा मारेकाे घटना  अहिले विवादमा परेको छ। 

घटनामा तास खेलिरहेका व्यक्ति पक्राउ नपरेको र नगद बरामद नभएको प्रहरीले बताउँदै आए पनि ठूलो रकम बरामद भएको र त्यसको हिसाब पारदर्शी नभएको भन्दै प्रहरी निरीक्षक मनिष लुइँटेलमाथि प्रश्न उठ्न थालेको हो। यसले तरङ पैदा गरेकाे छ । 

इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी निरीक्षक लुइँटेलले माथिल्लो निकायलाई जानकारी नदिई आफ्नै पहलमा होटलमा छापा मारेको आरोप छ । 

 स्रोतका अनुसार उनी दुई महिला प्रहरी र दुई जना सादा पोसाकका प्रहरीसहित होटल पुगेका थिए। उनी झण्डै हाेटलमा तीन घण्टा बढी समय बसेका थिए । 

 बिर्तामोडका केही प्रतिष्ठित व्यवसायी तास खेलिरहेको सुचना लिक भएपछि सबै तितर बित्तर भएकाे  बताइए पनि उनीहरू पक्राउ परेको आधिकारिक विवरण सार्वजनिक भएको छैन। साे समयमा  हाेटलमा मेनपावर ब्यवसायी र निर्माण व्यवसायी सहित केहि चर्चित ब्यक्तिहरू गाेप्य रूपमा तास खेलिरहेकाे स्राेतले जनाएकाे छ । 

उक्त घटनापछि तास खेल्ने व्यक्तिहरूबाट लाखौँ रुपैयाँ बरामद भएको चर्चा चलिरहेकाे छ । 

तर प्रहरीले भने तास खेलिरहेका व्यक्तिहरू फरार रहेकाले नगद बरामद नभएको र कसैलाई पक्राउ नगरिएको बताई रहेकाे छ । 

यसरी सार्वजनिक विवरण र बाहिर फैलिएको चर्चाबीच देखिएको अन्तरले घटनालाई थप शंकास्पद बनाएको छ।

 यद्यपि, प्रहरी निरीक्षकले रकम लगेको वा आर्थिक हिनामिना गरेको भन्ने आरोपको अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन। प्रहरी स्रोतका अनुसार घटनाको आन्तरिक छानबिन भइरहेको छ। 

इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिकुमार बस्नेतको नेतृत्वमा घटनाको वास्तविकता बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमिक्त सुचना अधिकारी प्रहरी निरिक्षक मुन्ना कुमार अधिकारीले बताए ।

 उनले समितिले प्रतिबेदन बुझाएपछि मात्र अरू थप कुरा खुल्ने बताए । उनले प्रहरी निरिक्षक लुईंटेलले चेन अफ कमाण्ड मिचेकाे, आर्थिक अनयमितता गरेकाे लगायतका  बिषयमा पनि छानबिन गर्ने काम समितिले  गरिरहेकाे बताए । 

प्रहरी निरिक्षक मनिष लुईटेलकाे कमाण्डमा  छापा हान्न गएका  सादा पोसाकका प्रहरी जवान मनिष धिमाल र काचुन भाेटेलाई जिम्मेवारी परिवर्तन गरी नियमित ड्युटीमा खटाइएको स्रोतको दाबी छ। त्यस्तै महिला प्रहरी जवान पुष्पा राई र भावना श्रेष्ठ पनि साे हाेटलमा गएकाे बताईएकाे छ । 

प्रहरी निरीक्षक लुइँटेलले भने आफूले कुनै आर्थिक अनियमितता नगरेको र होटलबाट नगद बरामद नगरेको दाबी गर्दै आएका छन्। तर उनी आफ्नाे बचाउकालागि हार गुहार मागिरहेका छन् । उनले आफुलाई कारवाही नगरिदिन र प्रतिबेदन आफुलाई हेराएर मात्र बुझाउन प्रहरी अधिकारीलाई भनेका छन् । 

त्यति मात्र हाेइन लुईंटेलले बिचाैलिया मार्फत समेत कारवाही नगरिदिन प्रहरीकाे उपल्लाे निकायमा दबाब दिँदै आएकाे जनाईएकाे छ । 

घटनामा आफ्नो संलग्नताबारे उठेका आरोप गलत रहेको बताउँदै आएका  लुँईटेल यश अघि पनि पटक पटक बिबादमा परेका प्रहरी अधिकारी हुन् । 

उनले तास हालबाट माथिल्लाे निकायलाई देखाउन  एक निर्दाेष ब्यक्तिलाई भने प्रकाउ गरेर नगद २५ हजार सहित ल्याएका थिए । उनलाई  भाेलिपल्ट  प्रहरीले छाडेकाे थियाे । 

प्रहरीले घटनामा कसैको कमजोरी वा आर्थिक अनियमितता देखिए आवश्यक कारबाही गर्ने जनाएको छ।  हाेटलबाट  सिसि क्यामराकाे डिभाईस ल्याएर हेर्ने काम र साे घटनामा संमलग्नहरूलाई साेधपुछ गर्ने काम समितिले गरिरहेकाे छानबिन समितिका संयाेजक इलाका प्रहरी कार्यालय दमकका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनले चाँडै प्रतिबेदन बुझाईने बताए । 

तास खेलिरहेको भनिएका व्यक्तिहरूसँग समेत सोधपुछ भइरहेको समेत उनले बताए । 

यता इप्रका अनारमनीका डिएसपी सन्ताेष पाठकले भने आन्तरिक छानबिन गर्ने समितिका संयाेजकले बताएका छन् । 

करिब १२ बजेदेखि साढे तीन घण्टाको अवधिमा प्रहरीले   होटलमा रहेका व्यक्तिहरूबीच रकमसम्बन्धी बार्गेनिङ गरेकाे र ठूलो रकम लिएर कसैलाई पक्राउ नगर्ने सर्तमा छाडिएको चर्चा छ ।  

यद्यपि, घटनाको मुख्य प्रश्न अझै अनुत्तरित छ—होटलमा वास्तवमै के भएको थियो? छापा मार्नुअघि र पछि कुन प्रक्रिया अपनाइयो? नगद बरामद भएको थियो वा थिएन? यदि भएको थियो भने त्यसको अभिलेख कहाँ छ? र प्रहरी टोलीले सम्बन्धित कार्यालय तथा माथिल्लो निकायलाई जानकारी नदिई छापा मारेको हो भने त्यसको जवाफदेहिता कसले लिने?यी प्रश्नको स्पष्ट जवाफ सार्वजनिक हुनु आवश्यक छ। 

प्रहरी संगठनभित्रकै अनुसन्धानले मात्र होइन, घटनाको निष्पक्ष छानबिन र आधिकारिक विवरण सार्वजनिक गरेर प्रहरीले आफ्नो जवाफदेहिता प्रमाणित गर्नुपर्ने देखिन्छ। आरोपको निष्पक्ष परीक्षण र तथ्यको सार्वजनिकताले मात्रै घटनाबारे फैलिएको अन्योल चिर्न सक्छ।

 जिल्ला प्रहरी कार्यालय झापाकाे प्रहरी प्रमुख  एसपी बसुन्धरा खड्काले कानुन बिपरित काम गर्ने प्रहरी अधिकारीलाई कारवाही गर्नुका साथै गल्ति गर्नेलाई सच्चिन निर्देशन दिँदै आएकी छन् । तर  याे घटनाले  लुईंटेलले अटेर गरिरहेकाे पुष्टि हुन्छ ।