बिर्तामोड ।
झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभाअन्तर्गत सातौँ तथा अन्तिम इकाइगत साधारणसभा मंगलबार बिर्तामोडमा सम्पन्न भएको छ।
सभामा बिर्ताबजार, गरामनी, बिर्तामोड र शनिश्चरे रोड सेवा केन्द्रका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेका थिए भने कर्जा विभाग प्रमुख प्रेम बस्नेत ‘विजय’ले सञ्चालन गरेका थिए।
सभामा अध्यक्ष भट्टराईले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सिम्रिकले झापा, इलाम, मोरङ र पाँचथरमा रहेका ४४ वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको जानकारी दिए।
उनले संस्था सदस्यको हित, आर्थिक उन्नति र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।सभामा संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, कोषाध्यक्ष मेहरमान बिष्ट, सञ्चालक सदस्यहरू शशिकला
मुखिया, लिला अधिकारी मुखिया, प्रकाश भट्टराई र चन्द्रकला भट्टराई, लेखा सुपरिवेक्षण समितिका संयोजक रमेशकुमार अधिकारी, सदस्य मीनप्रसाद गुरागाईं, शिक्षा उपसमिति सदस्य बद्री प्याकुरेल र मदनकुमार रिजाल तथा जनशक्ति विभाग प्रमुख मिनबहादुर अधिकारीलगायतको उपस्थिति थियो।
सभाका अवसरमा उत्कृष्ट चार बचतकर्ता बुद्धमाया राई, सुमिना दर्जी , दुर्योधन यादव, लक्ष्मणप्रसाद गुप्ता र उत्कृष्ट चार ऋणी पुष्पादेवी कोच, लक्ष्मी तामाङ, सिर्जना श्रेष्ठ र दीपक काफ्लेलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
साथै, सदस्य राहत कोषबाट विभिन्न सदस्यलाई उपचारका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराइएको थियो।
बिर्तामोड सेवा केन्द्रका शान्तिकुमारी सुवेदीलाई ४५ हजार, पूर्णिमाकुमारी राजवंशीलाई २० हजार २५०, शनिश्चरे सेवा केन्द्रका धनमाया लुइँटेललाई २२ हजार ५००, गरामनी सेवा केन्द्रका दीपक अर्याललाई १५ हजार ७५० र टेकनाथ खरेललाई ५ हजार ७६० रुपैयाँ प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख बस्नेतका अनुसार सिम्रिकले सदस्य राहत, स्वास्थ्य उपचार, विपद् तथा आपत्कालीन सहयोग, स्वास्थ्य शिविर, मठ–मन्दिर, विद्यालय, खेलकुद, सरसफाइलगायत सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा गत आर्थिक वर्षमा मात्रै १ करोड ४२ लाख ४७ हजार १८० रुपैयाँ खर्च गरेको छ।
संस्थाको शेयर पुँजी ३७ करोड ३९ लाख ४ हजार ५०० रुपैयाँ, बचत २ अर्ब ५६ करोड ९० लाख ७० हजार ८०४ रुपैयाँ २५ पैसा र लगानी २ अर्ब ९२ करोड ५० लाख ५४ हजार ९०१ रुपैयाँ १४ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, जगेडा तथा अन्य कोषमा ३४ करोड १९ लाख ९६ हजार ९६४ रुपैयाँ ७४ पैसा रहेको जनाइएको छ। सातवटै इकाइगत साधारणसभा सम्पन्न भएसँगै संस्थाको अन्तिम माइन्युट प्रमाणीकरण यही असोज २३ गते गरिने संस्थाले जनाएको छ।










































