इलाम । अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ, अवैध उत्खनन नियन्त्रण र प्राकृतिक स्रोतसाधन संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय इलामले प्रहरी नायब निरीक्षक (प्रनानि) जीवनकुमार कार्कीलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी अर्थात् ‘पुलिस अफ द मन्थ’ घोषित गरेको छ ।

प्रहरी चौकी पोल्टमारीमा कार्यरत कार्कीले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा देखाएको सक्रियता, व्यावसायिक दक्षता, अनुसन्धान क्षमता र कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले लामो समयदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो । पाँच वर्ष कैद सजाय तोकिएका इलामको चुलाचुली गाउँपालिका–२ निवासी ३८ वर्षीय प्रेमकुमार श्रेष्ठलाई २०६१ सालदेखि फरार रहेको अवस्थामा २०८३ कात्तिक ४ गते पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइएको थियो ।

त्यस्तै, चुलाचुली गाउँपालिका–५ स्थित आमपोखरा क्षेत्रमा निषेधित स्थानबाट गिटी तथा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा कार्की नेतृत्वको टोलीले प्रदेश १–०२–००१ ख १३८८ नम्बरको टिपर नियन्त्रणमा लिएको थियो ।

कात्तिक १४ गते गरिएको उक्त कारबाहीमा टिपर चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि स्थानीय तहमा बुझाइएको थियो ।

प्रहरीको सक्रियतापछि अवैध उत्खननमा संलग्न पक्षलाई एक लाख रुपैयाँ जरिवाना गराइएको थियो ।

Messenger_creation_A4A84DC3-61F5-4413-AC36-9CE3CA932656

अपराध अनुसन्धानतर्फ पनि कार्कीको भूमिका प्रभावकारी देखिएको छ । इलाम नगरपालिका–१२ साङरुम्बाकी ६६ वर्षीया जितमति लिम्बूको हत्यापछि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न उनको टोलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा इलाम नगरपालिका–११ निवासी २२ वर्षीय त्रिभुवन भुजेललाई कात्तिक ३० गते नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा पक्राउ गरी कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।

Messenger_creation_6AA949BE-B120-476F-98D3-AA761DD9A122

यसैगरी, प्राकृतिक स्रोतसाधनको संरक्षण र अवैध वन पैदावार ओसारपसार नियन्त्रणमा समेत कार्कीको टोली सक्रिय रहँदै आएको छ ।

चुलाचुली गाउँपालिका–३ स्थित सुकुना टोल क्षेत्रमा कात्तिक ३० गते गरिएको गस्तीका क्रममा अवैध रूपमा कटान तथा ओसारपसार भइरहेको आठ क्युबिक फिट सालको चिरान काठ फेला पारिएको थियो ।

Messenger_creation_E49E7613-DC29-4054-AF38-2B5BC022EFE5

उक्त काठसम्बन्धी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयलाई जानकारी गराइएको थियो ।

फरार अभियुक्त पक्राउ, जघन्य अपराध अनुसन्धानमा सहयोग, अवैध उत्खनन नियन्त्रण र वन पैदावार संरक्षणलगायतका क्षेत्रमा कार्कीले देखाएको कार्यक्षमताले प्रहरी सेवाप्रतिको जिम्मेवारीबोध र व्यावसायिक प्रतिबद्धता पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

कार्की यसअघि पनि विभिन्न स्थानमा उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कृत तथा सम्मानित हुँदै आएका छन् । अपराध नियन्त्रणदेखि सार्वजनिक सम्पत्तिको संरक्षणसम्मका काममा देखाएको सक्रियताको कदर गर्दै उनलाई ‘पुलिस अफ द मन्थ’ छनोट गरिएको प्रहरीले जनाएको छ ।

कार्कीले यसअघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा जनमुखी र प्रभावकारी कार्यसम्पादन गर्दै आएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत रहँदा उनले सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर प्रशंसा पाएका थिए ।

धनकुटाको साँगुरीगढी क्षेत्रमा कार्यरत रहँदा लागूऔषध नियन्त्रण अभियानलाई सक्रियतापूर्वक अघि बढाएका थिए । त्यस्तै, इलामकै पशुपतिनगरमा कार्यरत रहँदा पनि उनले उत्कृष्ट कार्यसम्पादन गरेका थिए ।

प्रहरी सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएका कार्कीले विभिन्न स्थानमा असहाय तथा विपन्न नागरिकको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याउने र आवश्यक सहयोगका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने कामसमेत गर्दै आएका छन् ।

जिम्मेवारी र कार्यक्षेत्र फरक भए पनि इच्छाशक्ति, इमानदारी र सेवाभाव भए जहाँ रहेर पनि जनताको हितमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उदाहरण कार्कीको कार्यशैलीले प्रस्तुत गरेको छ ।