पाँच जना ख्याती प्राप्त प्रतिभालाई गोर्खा फाउन्डेसन बिर्तामोडले सम्मान गरेको छ । आज झापाको बिर्तामोडमा एक भब्य समारोहकाबिच फाउन्डेसनले ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरेको हो । 

झापाका सामाजिक अभियान्ता तथा सहकारीकर्मी महेन्द्रकुमार गिरी सहित विभिन्न पेशा व्यवसायसँग ५ जना सम्मानित भएका हुन् । 

खासगरी सहकारीमार्फत आर्थिक–सामाजिक जनजीवन चलायमान बनाउन गिरीको भूमिका उल्लेख्य छ ।  उनी सहकारीका अलवा समर्पण अभियन्ताका अगुवा समेत हुन् । उनले झापामा रहेर पनि ‘एकका लागि एक अभियान, सडक दुर्घटना न्यूनीकरण महाअभियान, जस्ता सामाजिक कर्महरुमार्फत देशभर सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार मानिने विश्वेश्वर नौबाग अर्थात् विशे नगर्चीको सम्मानबाट  सम्मानित हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, काठमाडौंकी पूर्व प्रमुख जिल्ला अधिकारी सीता परियार र भूवनसिंह विश्वकर्मा रहेका छन् । विश्वकर्मा अन्टार्टिका महादेश पुग्ने पहिलो नेपाली नागरिक हुन् ।

नगद ५१ हजार पुरस्कार राशि तथा प्रशंसापत्र सहित उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेतले सम्मानपत्र प्रदान गरेका थिए । 

 फाउण्डेशनका अध्यक्ष वीरवहादुर दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका महासचिव रञ्जित परियारले स्वागत गरेका थिए ।

फाउण्डेसनका अध्यक्ष  दर्नालले समाज रुपान्तरमा विशेष योगदान पुर्याउने प्रतिभाहरुलाई वर्सेनी सम्मानित गरिने जनाए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र कलाकार राजेश घतानीले गरेका थिए ।