बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावको मिति नजिकिएसंगै चुनावी सरगर्मी बढेको छ । 

 यहि जेठ १५ गते हुने चुनावकालागि अहिले उम्मेदवारहरु  मतदाताको घर घरमा भोट माग्दै हिंडिरहेका छन् । आफ्नो पक्षमा मतदान गर्न आग्रह र अनुरोध गर्दै उम्मेदवारहरुले घर दैलो अभियानलाई तिब्रता दिइरहेका हुन् । 

 यो चुनावलाई  प्रमुख राजनीतिक दलहरुले पनि  महत्व दिइरहेका छन् । 

यो संस्थामा लामो समयदेखि  नेपाली कांग्रेस पक्षधरले  नेतृत्व लिंदै आएको छ । यस पटक पनि कांग्रेस आफ्नो विरासत जोगाउने दाउमा छ  । 

 संस्थाको आसन्न निर्वाचनमा विगतमा जस्तै कांग्रेस र राप्रपाले सांगठनिक नेतृत्वका लागि चुनावी तालमेल गरेका छन् । दुई दल ‘लोकतान्त्रिक राष्ट्रबादी समूह’ का नाममा निर्वाचनको मैदानमा होमीएका छन् । त्यस्तै  नेकपा एमाले सो संस्थामा कांग्रेसलाई रोकेर अगाडि बढ्ने रणनीतिमा देखिन्छ । निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी लगायतका दल स्वतन्त्र प्रगतिशील प्यानलका नाममा  मैदानमा उत्रिएका छन् । 

कांग्रेस र राप्रपाले तालमेल गरेर गठन गरेको ‘लोकतान्त्रिक राष्ट्रबादी समूह‘ बाट अध्यक्षमा साझा उमेद्वारका रुपमा मेघराज बाँस्तोलालाई अगाडि सारिएको छ । 

यसअघि उनी बिर्तामोड खानेपानीमा सचिवको भूमिकामा थिए । खानेपानी संस्था सञ्चालनको लामो अनुभव भएकाले कांग्रेसले अरु आकांक्षीलाई पन्छाएर बाँस्तोलाको नेतृत्व रोजेको हो । बांस्तोला बलिया उम्मेदवार हुन् । तसर्थ पनि कांग्रेसलाई उनीलाई नै राजेको जनाइएको छ । 

विर्तामोड खानेपानी संस्था सन् २०१८ र २०१२ मा गरी दुई पटक देशकै उत्कृष्ट बनेको थियो ।  एक कार्यकाल कार्यसमिति सदस्य र दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसकेका बांस्तोला बिगत १२ बर्ष भन्दा बढी समयदेखि खानेपानीमा आबद्ध छन् । 

लामो सयम अनारमनी गाविस तथा बिर्तामोड नगरपालिकामा कार्यरत बांस्तोलामा  कुशल व्यवस्थापकीय क्षमता रहेको मानिन्छ ।

उनी बांस्तोला कुल सेवा समिति झापाको अध्यक्ष, अपांगता स्वावलम्बनको सल्लाहकार एकता युवा समाजको सल्लाहकार संयोजक, विराट भरत विश्वान्तिका सदस्य लगन सहित बिभिन्न सामाजिक संघ–संस्थामा आबद्ध छन् ।  सरल र  सहयोगी बांस्तोलाले बिर्तामोड बासीलाई स्वच्छ्य र  स्वस्थ्य खानेपानी २४ सै घण्टा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनै अध्यक्षका दाबेदार बांस्तोलासंग चुनावीे सन्दर्भमा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपानेले गरेको कुराकानी प्रस्तुत छ । 

 बिर्तामोड खानेपानी संस्थाको अध्यक्ष पदमा तपांइको उम्मेदवारी किन ? 

संस्थामा एक कार्यकाल कार्यसमिति सदस्य र दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसकेको हुनाले अब संस्थाको  नेतृत्व लिन सक्छु भन्ने विश्वासका साथ अध्यक्षको उम्मेदवार बनेको हुं । 

विर्तामोड खानेपानी संस्था सन् २०१८ र २०१२ मा गरी दुई पटक  देशकै उत्कृष्ट बनिसकेको छ ।  यो कार्यलाई निरन्तरता दिन पनि मेरो उम्मेदवारी हो ।  

उपभोक्ताले तपांईलाई किन रोज्ने ? तपांईको एजेण्डा के के छन् ? 

खानेपानी संस्थामा लामो समय आबद्ध रहेर  संस्थाको हित र उपभोक्तलाई पु¥याएको सहयोग कारण पनि म उपभोक्ताको रोजाइमा पर्छु भन्ने विश्वास छ । 

विर्तामोड नगर क्षेत्रका उपभोक्ताहरुलाई सरल र सहज ढंगवाट २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउने नै हाम्रो मुख्य एजेण्डा हो । संस्थाको संस्थापक अध्यक्ष टोरुप प्रसाई र बर्तमान अध्यक्ष जलकुमार गुरुङले गरेका कामलाई निरन्तरता दिंदै आम उपभोक्तालाई सेवा प्रवाह गर्नेछु ।  

बिर्तामोड खानेपानीले नगर विकास कोपवाट सन् २०१८ र २०२२ मा  गरी दुई पटक देशकै नमूना खानेपानी संस्थाको रुपमा अर्वाड जितेको छ ।  त्यो प्रसिद्धि र शाखलाई जोगाउंदै अझ उन्नत बनाउने हाम्रो मुख्य एजेण्डा तथा योजना हो । 

घरदैलो अभियानमा कतीको तिब्रता दिइरहनु भएको छ ? उपभोक्ताहरुको संस्थाको प्रतिको बिचार कस्तो पाउनु भयो ?  

घरदैलो अभियान चलिरहेको छ । खानेपानीको धारा जडान गरेका उपभोक्ता हाम्रा मतदाता हुनुहुन्छ तसर्थ म र हाम्रो टिम उहाँहरूको घरदैलोमा पुग्दै मत माग्ने अभियानमा छौं । 

उपभोक्ताको घरमा स्वच्छ पानी पु¥याउनु हाम्रो कर्तब्य र दायित्व हो । आम उपभोक्ता खानेपानी संस्था प्रति सकारात्मक भएको पाएको छु । कहिले कांहि पाइप लाइन बिस्तार गर्दा समस्या आए पनि हामीले तत्कालै कर्मचारी खटाएर समस्याको सामधान गर्दै आएका छौं । 

बढ्दो शहरी करण संगै  वितामोडमा जनघनत्व  बढ्दो छ ? संस्थाले हाल प्रवाह गरिरहेको सेवाले धान्ने स्थिती देखिंदैन । खानेपानीको क्षमता विस्तारमा  तपाईंको धारणा  के छन् ?

हामीले जनघनत्व बढेसंगै पानीको क्षमता बढाउंदै लगिरहेका छौं । बिगतमा दुई , तीन वटा बोरीङबाट पानी उत्पादन गरेका थियौं भने अहिले हामीसंग १२ वटामाथि डीप बोरीङ जडान गरेर उपभोक्तालाई २४ सै घण्टा पानी उपलब्ध गराउंदै आइरहेका छौं । फेरी पनि आगामी दिनमा क्षमता बिस्तार गर्नेछौं । 

संस्थामा हुने प्राविधिक त्रुटी र पानी चुहावट हुन सक्ने अवस्थाप्रति  तपांई कत्तीको सचेत हुनुहुन्छ  ? 

पानी चुहावट भयो भने सबै भन्दा ठुलो घाटा संस्थालाई हुन्छ । त्यसैले म सचेत छु । र आम उपभोक्ता सबैलाई एकै नजरले हामी हेछौं । पिउने पानी प्रयोग गरेपछि शुल्क तिर्नु हामी सबैको दायित्व हो । तसर्थ पानी प्रयोग गरेपछि सबेले शुल्क तिर्नुपर्छ । 

अनत्यमा उपभोक्तालाई के भन्न चाहनुहुन्छ ? 

सेवामूलक संस्था विर्तामोड खानेपानीको एक कार्यकाल सदस्य र दुई कार्यकाल सचिव भएर काम गरेको अनुभव मेरो छ । 

तीव्र शहरीकरणसँगै उपभोक्तामा पानीको माग बढ्दो छ ।

तसर्थ पानीको माग परीपूर्ती गर्न तथा संस्थालाई उत्कृष्ट बनाउने मेरो भिजन छ । त्यसैले एक पटक म र मेरो टिमलाई मतदान गरिदिनु हुन उपभोक्ता बर्गमा अनुरोध गर्दछु ।