बिर्तामोड । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधि कसले उचाल्ने भन्ने टुंगो त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबबीचको प्रतिस्पर्धाले लगाउने भएको छ। दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनलमा दुवै विभागीय टोली उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छन्।

फाइनल खेललाई लिएर दुवै टोलीले आ–आफ्नो तयारी पूरा भएको जनाएका छन्।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक जिवेश पाण्डेले आर्मी बलियो र परिचित प्रतिद्वन्द्वी भए पनि आफ्नो टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए।

उनले दुवै टोली एकअर्काको खेल शैली र रणनीतिबारे जानकार रहेकाले फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा व्यक्त गरे।


एपीएफकी कप्तान रेनुका नगरकोटीले नियमित कप्तान अनिता बस्नेतको अनुपस्थितिले टोलीलाई केही चुनौती थपिएको बताइन्। नयाँ खेलाडीहरूसँग तालमेल मिलाउन केही कठिनाइ भए पनि टोलीभित्र राम्रो वातावरण रहेकाले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ।

उता, त्रिभुवन आर्मीकी कप्तान दीपा राईले प्रतियोगितामा अन्य टोलीसँगको प्रतिस्पर्धा अपेक्षाकृत कमजोर हुँदा दर्शकको उपस्थिति र खेलप्रतिको आकर्षणमा कमी देखिएको हुन सक्ने धारणा राखिन्।

आर्मीका प्रशिक्षक राजु तामाङले एपीएफसँगको भिडन्त आफ्ना लागि नयाँ नभएको बताए। यसअघि दुई टोलीबीच भएका तीन प्रतिस्पर्धामध्ये आर्मीले दुई खेलमा हार र एक खेलमा जित निकालेको स्मरण गर्दै उनले यसपटकको भेट चौथो प्रतिस्पर्धा भएको जानकारी दिए।

प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक, स्ट्राइकर र गोलकिपरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

उपाधिका लागि दुवै विभागीय टोली मैदानमा उत्रिँदा यसपटक झापा महिला गोल्डकपको ट्रफी कसको पोल्टामा पर्छ भन्ने चासो खेलप्रेमीमाझ बढेको छ।