दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले झापाको बिर्तामोडका विभिन्न ६ स्थानमा रिफ्लेक्ट मिरर ( ऐना )जडान गरिएको छ। जोखिमयुक्त तथा घुम्ती सडकमा जडान गरिएका यस्ता ऐनाले सवारी चालकलाई विपरीत दिशाबाट आउने सवारीसाधन देख्न सहज बनाउने र सम्भावित दुर्घटना रोक्न सहयोग पुर्‍याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए।


उनका अनुसार रिफ्लेक्ट मिररले विशेषगरी साँघुरा तथा दृश्य अवरुद्ध हुने सडकखण्डमा चालकलाई सहजता प्रदान गर्दै दुर्घटनाको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

रिफ्लेक्ट मिरर जडानसँगै सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले बताइन्।

उनले जोखिमयुक्त सडक तथा घुम्तीमा जडान गरिएका यस्ता ऐनाले सवारी चालकलाई सहजता प्रदान गर्नुका साथै सम्भावित दुर्घटना रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

त्यसैगरी नगर उपप्रमुख नगेन्द्र संग्रौलाले पनि दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट मिरर प्रभावकारी हुने बताए। उनले यात्रा गर्दा यात्रु, चालक तथा सहचालक सबैले आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले सडक दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीले मात्रै चाहेर सम्भव नहुने बताए। यसका लागि स्थानीय सरकार, सरोकारवाला निकाय, सवारी चालक, यात्रु तथा आम नागरिकबीच सहकार्य, सहयोग र समन्वय आवश्यक रहेको उनले औंल्याए।