झापा । झापाको भद्रपुर नगरपालिका–५ स्थित एक निर्माणाधीन घरबाट भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको १५ पोका लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
भद्रपुर–५ निवासी सुकदेव सहनीको निर्माणाधीन घरको कोठामा लुकाएर राखिएको अवस्थामा आइतबार बिहान सशस्त्र प्रहरी बल नेपाल भद्रपुर गुल्मले विशेष सूचनाका आधारमा छापा मार्दा ती सामान फेला पारेको हो। बरामद सामानमा लेडिज लेगिज, पञ्जालगायतका कपडा रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ती सामान शनिबार राति मेची नदी हुँदै मेची पुलमुनिबाट नेपाल भित्र्याइएको आशंका गरिएको छ।
वडा प्रहरी कार्यालय भद्रपुर र भद्रपुर भन्सार कार्यालयको नजिकैबाटै तस्करीका सामान बरामद भएपछि सीमा सुरक्षामा खटिएका निकायको निगरानीमाथि प्रश्न उठेको छ। खुला सीमाको फाइदा उठाउँदै तस्करी भइरहेको अवस्थामा सामान कसले ल्याएको, कहाँ लैजान लागिएको र यसको वास्तविक परिमाण तथा मूल्य कति हो भन्नेबारे प्रहरीले खुलाएको छैन।
यसैबीच, बरामद सामानको मूल्यांकन कम गराउन तस्करीमा संलग्न समूहले दबाब दिएको चर्चा पनि सार्वजनिक भएको छ। प्रहरीको मिलेमतो वा कमजोरीका कारण घटना बाहिर आएको हो भन्ने आशंकासमेत व्यक्त भइरहेका छन्। यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन। सशस्त्र प्रहरीले भने घटनामा संलग्न व्यक्ति र समूहको पहिचानका लागि अनुसन्धान भइरहेको जनाएको छ। बरामद सामान भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ।
तस्करी नियन्त्रण भएको दाबी भइरहेका बेला भन्सार र प्रहरी कार्यालयकै आसपासबाट सामान बरामद हुनुले सीमा सुरक्षाको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ। घटनाको निष्पक्ष छानबिन गरी तस्करीको वास्तविक सञ्जाल र सम्भावित संलग्नताबारे सार्वजनिक गर्न आवश्यक देखिएको छ।










































