झापाको बिर्तामोड नगरपालिका–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ। ‘हाम्रो आफ्नै घर होस्’ अभियानअन्तर्गत संस्थाले ‘मेरो आफ्नै घर कर्जा’ योजना सञ्चालनमा ल्याएको हो। यस योजनाअन्तर्गत सदस्यले २० वर्षसम्मको भुक्तानी अवधि पाउनेछन्।
संस्थाको कार्यालय परिसरमा शनिबार आयोजित नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण समारोहमा नयाँ कर्जा योजनाको औपचारिक शुभारम्भ गरिएको हो। संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सदस्यले घर निर्माण तथा आवास प्रयोजनका लागि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यस कर्जाको ब्याजदर दुई वर्षसम्म परिवर्तन नहुने संस्थाको नीति रहेको उनले जानकारी दिए।
आफ्नै घर निर्माण गर्ने सपना बोकेका सदस्यलाई सहज र सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको गिरीले बताए। घर निर्माणका लागि आवश्यक पुँजी जुटाउन कठिनाइ भोगिरहेका सदस्यलाई लक्षित गरी अभियान अघि सारिएको उनको भनाइ छ।
कम ब्याजदर र लामो भुक्तानी अवधिको यो योजनाले सदस्यलाई आफ्नै घर निर्माण तथा आवास व्यवस्थापनमा सहयोग पुग्ने संस्थाको विश्वास छ। सदस्यको आर्थिक तथा आवासीय आवश्यकतालाई प्राथमिकतामा राख्दै सहकारीले नयाँ कर्जा उत्पादन बजारमा ल्याएको हो।
कार्यकारी प्रमुख गिरीका अनुसार संस्थाको जगेडा कोषमा रहेको एक अर्ब रुपैयाँबाट समेत ‘मेरो आफ्नै घर कर्जा’ योजनाका लागि रकम परिचालन गरिनेछ। यसले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सदस्यलाई सहज रूपमा कर्जा उपलब्ध गराउन सहयोग पुग्ने संस्थाको अपेक्षा छ।
कोशी प्रदेशका छ जिल्लामा कार्यक्षेत्र रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सदस्य संख्या तथा ऋण कारोबारका हिसाबले देशकै ठूला बचत तथा ऋण सहकारी संस्थामध्ये एक हो।










































