लोपोन्मुख मेचे जातिको संस्कार, संस्कृति, भाषा, भेषभूषा लगायतका पक्षलाई समेटेर निर्माण थालिएको चलचित्र ‘विक्रम देवा’को छायाँकन अन्तिम चरणमा पुगेको छ ।

झापा र इलामका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रको ९९ प्रतिशत छायांकन सकिएको निर्माता एवम् नायक प्रताप मेचेले बताए ।  

तीन वटा गीत रहेको चलचित्रमा अन्तिम गीतको छायांकन बाहेक अरु सकिएको उनले बताए ।


चलचित्र निर्माण युनिटले बुधबार झापाको सालबारीमा गीतको छायांकन गरेको छ । चलचित्रमा रोमान्टिक फ्लेवर ल्याउन सुन्दर पर्यटकीय स्थल सालबारीमा गीतको छायाँकन गरिएको नृत्य निर्देशक कमल राईले बताए ।  

चार दशकदेखि चलचित्रको दुनियाँमा क्रियाशील राईले पहिलो पटक मेचे चलचित्र निर्माणमा काम गरेको बताउँदै चलचित्र उत्कृष्ट हुनेमा विश्वास व्यक्त गरे ।

चलचित्रको गीतहरुमा गायक दिपक लिम्बू र मेलिना राई तथा प्रताप दासको स्वर रहेको छ ।

अर्का निर्माता अर्जुन मेचेले चलचित्रको मुख्य उद्देश्य मेचे जातिको संस्कार संस्कृतिलाई देश–विदेशमा पहिचान गराउनु रहेको उल्लेख गरे ।

उनले  झापामा न्यून संख्यामा रहेको मेचे जातिको भाषा, पहिरन, खानपान, रहनसहनलाई चलचित्रको माध्यमबाट चिनाउने अभियानमा आफूहरु लागेको बताए ।

३० प्रतिशत मेचे भाषा र ७० प्रतिशत नेपाली भाषामा निर्माण हुन लागेको बिक्रम देवा बालकदेखि बृद्धसम्मले हेर्न लायक उत्कृष्ट चलचित्र रहेको उनको भनाई छ ।

 ‘एक्सन, रोमान्स र टे«डिसन मिसिएको पारिवारिक चलचित्र बिक्रम देवा हो’, अर्का निर्माता सजिन पौडेलले भन्नुभयो, ‘दुई साथी बीचको मित्रलाई समेत चलचित्रमा उतारिएको छ ।’

नेपालमै ‘पहिलो’ पटक ठूलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको चलचित्रका कथा निर्देशक कुमार केसीले बताए ।  

चलचित्र हास्य र द्वन्द्व मिश्रित चलचित्रले मित्रताको अनुपम सन्देश दिने उनको भनाई छ ।

जय भोले बाबा फिल्मसको ब्यानरमा निर्माण हुन लगेको चलचित्र विक्रम देवामा नायकको रुपमा सुवास मेचे र प्रताप मेचे रहेका छन् ।  

नायिकाको रुपमा उर्मिला कार्की र भावना खपाङ्गी मगर रहेका छन् ।  त्यस्तै, बिमल खजुम, सुनिल थापा, पुकार भट्टराई, विपिन प्रसाईं, विकास राउत लगायतका कलाकारको अभियन रहेको छ ।

चलचित्र निर्माणमा करिब रू एक करोड ५० लाख खर्च हुने अर्का निर्माता सूर्यबहादुर बस्नेतले बताए ।  यसअघि एक करोडको खर्च अनुमान गरिए पनि लागत बढेको उनको भनाइ छ ।

नेपाल, भारत र विदेशमा चलचित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ भने नेपालीसँगै हिन्दी र अंग्रेजी भाषामा चलचित्र डब गरेर प्रदर्शन गरिने निर्माण पक्षले योजना छ ।

चलचित्र विक्रम देवाको कार्यकारी निर्माता रविन मेचे, क्यामेरा बिक्रम डीसी, संगीत विकास चौधरी, नृत्य

कमल राई र द्वन्द्व निर्देशन सन्तोष भुजेलको रहेको छ । गत बैशाख २५ गते झापाको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको थियो ।