बिर्तामोड । बिर्तामोडमा बक्सिङ खेलको संस्थागत विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बिर्तामोड नगर बक्सिङ संघको तदर्थ समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा प्रज्वल बिमली चयन हुनुभएको छ।
गठित समितिको उपाध्यक्षमा नितेस बस्नेत, सचिवमा नसीब पोमु, कोषाध्यक्षमा भारती सुब्बा तथा सदस्यमा मनिष गुरुङ, सरिफ राई र राज भण्डारी चयन हुनुभएको छ।
बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कडेल प्रमुख अतिथि तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौला विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्काको समेत उपस्थिति रहेको थियो।
नवगठित समितिका अध्यक्ष बिमलीले बिर्तामोडमा बक्सिङ खेलको विकास, नयाँ खेलाडी उत्पादन र खेलप्रतिको आकर्षण बढाउन संघले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।
कार्यक्रममा बक्सिङ प्रशिक्षकहरू डम्बर सुब्बा, प्रम सिंह धिमाल र रिन्तु हस्ता लगायत खेलकुद क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
संघ गठनसँगै बिर्तामोडमा बक्सिङ प्रशिक्षणलाई व्यवस्थित बनाउने, प्रतिभावान खेलाडीको पहिचान गर्ने तथा स्थानीयदेखि राष्ट्रियस्तरका प्रतियोगितामा खेलाडीको सहभागिता बढाउने अपेक्षा गरिएको छ।










































