बिर्तामोड । झापाको अर्जुनधारा–६ स्थित गामस्त स्पोर्ट्स हवमा आज आइतबार सम्पन्न प्रथम माउण्ट एभरेष्ट खुला कराँते प्रतियोगितामा मोरङ च्याम्पियन बनेको छ । कात्तिक १४ र १५ गते आयोजित दुईदिने प्रतियोगितामा मोरङले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

प्रतियोगितामा मोरङको बूढीगंगा गाउँपालिकास्थित न्यू सेव कराँते एकेडेमी पहिलो भएको छ । उपाधिसँगै एकेडेमीले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, सुनसरी दोस्रो हुँदै नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

यसैगरी झापा तेस्रो भएको छ । झापाको बिर्तामोड स्पोर्ट्स एकेडेमीले तेस्रो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता तीनवटै टोलीलाई आइतबार आयोजित समापन समारोहमा कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले पुरस्कार वितरण गरेकी थिइन ।  प्रतियोगितामा सहभागी खेलाडीहरूलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

मेचीनगर स्पोर्ट्स एकेडेमी, राइजिङ सन कराँते एकेडेमी र एमिटी एजुकेशन फाउन्डेसनको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । एमिटीका कराँते प्रशिक्षक सञ्जित मोहोलीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री तिम्सिना प्रमुख अतिथिका रूपमा सहभागी थिइन । 

राइजिङ सन कराँते एकेडेमीका सञ्चालक मदनकुमार भण्डारीले स्वागत गरेको  कार्यक्रममा मन्त्री तिम्सिनासहित नेपाली कम्युनिष्ट पार्टी नेकपा झापाका संयोजक खड्ग तिम्सिना पवन, वरिष्ठ कराँते प्रशिक्षक कालु मेचे र पूर्व कराँते चिफ कोच मदनकुमार उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन नेपाल कराँते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईं मदनले गरेका थिए । 

प्रतियोगितामा १८ वटा टोलीका २५० भन्दा बढी खेलाडीको सहभागिता रहेको नेपाल कराँते महासंघका केन्द्रीय सदस्य मिलन प्रसाईंले जानकारी दिनुभयो ।

समारोहमा एमिटी एजुकेशन फाउन्डेसनका प्रिन्सिपल आरएस ढकाल, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्का, अन्तर्राष्ट्रिय रेफ्री प्रविन राना, कोशी प्रदेश कराँते महासंघका अध्यक्ष प्रभाकर रानामगर तथा एसियन पदक विजेता मिना पाठकलगायतको उपस्थिति रहेको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष तुलसी मैनाली प्रमुख अतिथि तथा नेपाल कराँते महासंघका केन्द्रीय उपाध्यक्ष डा। ओमकृष्ण प्रसाईं विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।