झापा : झापाको बिर्तामोड ५ स्थित न्युटन्स एजुकेसन एकेडेमीले नेपालीहरूको महान् चाड तिहार, छठ पर्व एवं नेपाल संम्वदको अवसर पारेर कक्षा १ र २ का विद्यार्थीहरूको सहभागितामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
सानै उमेरदेखि विद्यार्थीलाई नेपाली मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक पहिचानसँग जोड्दै उनीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आज आइतबार बिर्तामोडमा कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुंमागांइले जानकारी दिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रधानाध्यापक हुमागाईंले शिक्षालाई केवल पाठ्यपुस्तक र परीक्षामा सीमित नराखी संस्कार, संस्कृति, सामाजिक पहिचान र मानवीय मूल्यसँग जोड्न मद्धत पुगोस भन्ने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए । । विद्यार्थीलाई असल, जिम्मेवार र संस्कारी नागरिक बनाउने अभियानमा विद्यालय निरन्तर प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मनमाया विश्वकर्माले बालबालिकालाई सानै उमेरदेखि संस्कार, संस्कृति र सामाजिक मूल्य–मान्यताको शिक्षा दिन जरुरी रहेको औंल्याउंदै विद्यालयले गरेको कार्यक्रमको प्रशंसा गरिन ।
कार्यक्रममा सामाजिक ब्यक्तित्व सजेश शिवाकोटी , मिसन झापाका अध्यक्ष माधव झा, नगर प्यावसनका सचिव दिपागंकर मैनाली, विद्यालयका निर्देशक आशिष प्रसाईले शुभकामना मनतब्य राख्दै विद्यालयका संस्थापक एवं शिक्षासेवी स्वर्गीय हरिकुमार प्रसाईले परिकल्पना गरेको शैक्षिक अवधारणाले पछिल्लो समय सार्थकता पाउँदै गएको बताएका थिए ।
उनीहरुले हरिकुमार सरले देखेको सपना र शिक्षाप्रतिको दूरदर्शी सोच अहिले व्यवहारमा रूपान्तरण हुँदै गएको उल्लेख गर्दै स्वर्गीय प्रसाईको योगदानको उच्च प्रशंसा गरेका थिए।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा संस्थापक धर्म पराजुली प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साना–साना नानी बाबुहरुले नेपाली संस्कार र संस्कृति झल्कने लोकनृत्य, तिहार विशेष गीत–सङ्गीत , फेसन सो, नाटक, तथा विविध सांस्कृतिक प्रस्तुति पस्केका थिए । स्वागत प्राइमरी इन्चार्ज मनोरमा सिंह बर्माले गरेको कार्यक्रमको सन्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन ।







































